संसार कोरोना महामारीसँग जुधिरहेको छ । आर्थिक रुपबाट निकै मजबुत मानिएका देश समेत यो महामारीसँगको लडाइँमा पराजित हुँदै गएका दृश्यहरू हामीले देखिरहेका छौँ । वर्तमानमा त यसले मानव समुदायलाई कहिल्यै नर्बिसिने पीडा दिएर जान्छ नै । त्यसभन्दा ज्यादा पीडा यसले विश्व अर्थतन्त्रमा दिने पनि निश्चित छ । हाम्रो देश नेपाल पनि यो महामारीसँग आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गरेर लडिरहेको छ । महामारीबाट बच्न देशलाई लकडाउन गरिएको छ भने उपचारका प्रयासहरू पनि युद्धस्तरमा बढाइएको छ । महामारीसँग जुध्न अहिले गरिएका प्रयत्नहरू मात्रै होइन, यस संकटबाट पर्न सक्ने आर्थिक प्रभावहरू पनि अन्य विश्वको जस्तै हामीले पनि प्रत्यक्ष भोग्ने छौँ । यो संकटलाई जित्दै हामी कसरी फेरि लयमा आउन सक्छौँ ? यसबारेमा योजना आयागका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटासँग गरिएको कुराकानी ः
कोरोना भाइरसको महामारीबाट समग्र क्षेत्रमा पर्न सक्ने प्रभावलाई हामीले कसरी आँकलन गर्न सक्छौँ ?
सबैभन्दा पहिले त हामीले यसको समग्र विश्लेषण गर्नुपर्छ । सरकारले आफ्ना विज्ञहरूको एउटा बृहत्तर समूहमार्फत यसको टे«न्डको विश्लेषण गर्नुपर्यो । यसमा हामीले महामारी रोगका विज्ञहरू, जनस्वास्थ्य क्षेत्रका विज्ञहरू र अथशास्त्रीहरू सम्मिलित एउटा विज्ञ समूह बनाउनुपर्यो ।
त्यस समूहले यस महामारीको आँकलन गर्दै ३ चरणको योजना बनाउनुपर्छ भन्ने मलाई लाग्छ । पहिलो अहिलेको जस्तो अवस्थामा यसले समग्र क्षेत्रमा पार्ने प्रभाव र त्यससँग जुध्न हामीले बनाउने योजना । त्यसपछि मझौला किसिमको अवस्थाको आँकलन र तेस्रोमा अहिलेको अमेरिका, बेलायत जस्ता देशहरूले भोगिरहेको भयावह अवस्था । यसरी यसका चरणहरूको आकलन गर्यौँ भने त्यसले पार्ने प्रभावका बारेमा क्षेत्रगत विश्लेषण भइसकेपछि सरकारलाई समग्र योजना बनाउन सजिलो हुन्छ । पहिलो कुरा त ट्रेन्ड विश्लेषण भएपछि महामारीसँग लड्न पनि सजिलो हुन्छ । अहिलेको अवस्थाको तयारी, मझौला चरणमा के तयारी आवश्यक छ र भयावह हुँदा के गर्ने भन्ने स्पष्ट खाका भएपछि हामीलाई काम गर्न सजिलो होला ।
मैले अर्थशास्त्रीसहितको टिमको किन कुरा गरेँ भने त्यो टिमले वास्तवमा यस महामारीले राज्यका विभिन्न क्षेत्रमा के असर पार्छ भन्ने आँकलन गर्छ । जस्तो हामीलाई थाहा छ, यस महामारीले हाम्रो एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पर्यटन त्यसमा पनि बाह्य पर्यटनलाई निकै असर पुर्याउने देखिन्छ । त्यसबाट पुनःस्थापित कसरी हुने भन्ने कुरा यसभित्र पर्लान् । अब कृषि क्षेत्रमा यतिबेला धान रोप्ने बेला भइरहेको छ । किसानहरूलाई यसतर्फ कसरी उत्साहित गर्ने भन्नेतर्फ पनि ध्यान दिनुपर्ला । स्वास्थ्य क्षेत्रलाई बलियो कसरी बनाउने भन्ने पनि हामीले योजना बनाउने र कार्यान्वयन गर्ने काम गनुपर्यो ।
अब शिक्षाको जुन कुरा छ, शिक्षा मन्त्रालय, विश्वविधालय, सिटिइभिटी जस्ता संस्थाले अनलाइन र ई–शिक्षामा जोड दिनुपर्यो र यो काम शिक्षा मन्त्रालयले संयोजन गर्न सक्ने भयो । यतिबेला स्वास्थ्य मन्त्रालय र राज्यका कोही अन्य निकाय यसमा लडिरहेका छन् । तर यो विज्ञ समूहको निर्माण गरी समग्र क्षेत्रको क्षतिको आँकलन र त्यसबाट माथि उठ्न के योजना बनाउने भन्ने कामको नेतृत्व अर्थमन्त्रालय र योजना अयोगले गर्न सक्छन् । सायद उहाँहरूले गरिराख्नु भएको होला तर त्यो देखिने गरी आउनुपर्यो ।
महामारीसँग जुध्न सरकारले गरिरहेको प्रयन्तलाई कसरी हेरिरहनु भएको छ ?
चीनको वुहानमा यस संक्रमणले महामारीको रुप लिँदा नेपाल सरकारले पनि त्यहाँ रहेका आफ्ना विद्यार्थीलाई नेपाल ल्याएको थियो । हामीले सोही बेलादेखि यस रोगसँग कसरी जुध्ने भन्नेबारेमा तत्काल आफ्ना तयारीहरू अघि बढाउनुपर्ने थियो । त्यो के कति कारणले ढिला भयो त्यसले अहिले हामीलाई अप्ठ्यारो पारिरहेको देखिन्छ । तर स्वास्थ्य मन्त्रालयले आफ्नो सामथ्र्यले भ्याएसम्म काम गरिरहेको छ । सरकारले समयमै लकडाउन गर्यो, जसले कम्तीमा संक्रमणको दर बढ्न दिएको छैन । यो सकारात्मक कुरा हो ।
एक हिसाबले यतिबेला संघीयताको वास्तविक कार्यान्वयन भइरहेको पनि हामीले देखिरहेका छौँ । केन्द्रले लकडाउन गर्नेदेखि अन्य क्षेत्रको काम गरिरहेको छ भने स्थानीय सरकारहरू वडाहरूले गाउँगाउँमा राहत वितरण गरेको देखिँदै छ । यदि स्थानीय सरकार हुँदैन थियो भने १० बोरा चामल बाँड्न पनि केन्द्र सरकार जानुपर्ने अवस्था आउँथ्यो नि ! प्रदेशले पनि आफ्ना काम गरिरहेका छन् ।
अब खाँचो कोअर्डिनेसनको देख्छु म । स्वास्थ्यले महामारीको आँकलन गरिसकेपछि उसँग अन्य मन्त्रालयले कोअर्डिनेसन गर्दै सम्भावित क्षति र त्यसका समाधानको उपाय निकाल्नुपर्छ । अब सबै एकजुट भएर अगाडि बढ्नुपर्यो । पार्टीहरूले आफ्ना कार्यकर्ता पंक्तिलाई एकजुटका साथ अघि बढाएर परिचालन गर्नुपर्यो । मलाई विश्वास छ, यसरी एकजुट भएर हामी लड्यौँ भने यस महामारीलाई पराजित गर्न सक्छौँ ।
कोरोना परीक्षण गर्ने सामग्रीको अभावले वास्तविक अवस्था बाहिर आइरहेको छैन भन्ने आरोप लागिरहेको छ नि सरकालाई ?
त्यस्तो होइन । हामी सबै कुरामा नकारात्मक हुनु हुँदैन । समयमै लकडाउन गरिएका कारण धेरै विषय नियन्त्रण भएको मलाई लाग्छ । सरकारका संयन्त्रहरूले स्वास्थ्य सामग्री ल्याउने सन्दर्भमा चौतर्फी प्रयत्न गरिरहेको देखिन्छ । हामीलाई अलिकति चुनौती भनेको भारतसँगको खुला सिमानाले पनि परिरहेको देखिन्छ । उत्तर प्रदेश र बिहारमा यो भयावह भयो भने हामीलाई पनि लड्न निकै समस्या हुन सक्छ । यसको मतलब त्यो सीमा अलि लामै समयसम्म बन्द हुनुपर्ने देखिन्छ । त्यति हुँदाहुँदै पनि नेपाल आउन चाहने हाम्रा नागरिकलाई त नेपालले कम्तीमा नेपालमा भित्र्याएर क्वारेन्टाइन गर्नुपर्छ । त्यसो गरियो भने हामी सुरक्षित पनि रहन्छौँ र आफ्ना नागरिकलाई देशभित्र पनि ल्याउन सक्छौँ ।
महामारीपछिको आर्थिक अवस्था के हुने देख्नुभएको छ ?
महामारीको आजको अवस्थालाई मूल्यांकन गर्दा हाम्रो अर्थतन्त्रको रुप फरक हुने देखिन्छ । यस्तो अवस्था अझै लम्बिएर जसरी रेमिटयान्सले हाम्रो अर्थतन्त्रमा गरिरहेको योगदानको अंश नै खाली हुनसक्ने देखिन्छ । त्यसो हुँदा हामीले अन्य क्षेत्रलाई योजनाबद्ध प्याकेज दिन सक्नुपर्ने देखिन्छ । विप्रेषणमा योगदान गरिरहेको ठूलो हिस्सा नेपाल फर्किए उनीहरूलाई समावेश गरेर स्थानीय सरकारहरूमार्फत हामीले कृषि, जडिबुटीका क्षेत्रमा ठुल्ठुला प्याकेजहरू बनाउन सक्नुपर्छ । विदेशबाट फर्किने समूह एकातिर युवा हुन्छ भने अर्कातिर केही सीप र अनुभव सिकेर फर्किएको हुन्छ । उनीहरूलाई परिचालन गर्न सक्यौँ भने र उनीहरूलाई उत्पादनसँग जोड्न सक्यौँ भने त्यसले मुलुकको अर्थतन्त्रमा थप योगदान दिन सक्छ । उनीहरूलाई गाउँगाउँमा सहकारी र मझौला उद्योगको माध्यमबाट परिचालन गर्न सक्यौँ भने स्वाभिमानी अर्थतन्त्र निर्माणका लागि यो धेरै राम्रो अवसर हुनसक्ने मैले देखेको छु ।
यसैगरी हामीले मूलतः कृषिलाई यान्त्रिक र आधुनिकीकरण बनाउने र विदेशबाट फर्किने र यही भएको जनसंख्यालाई समेत परिचालन गर्न सक्यौँ भने अन्य क्षेत्रबाट भएको घाटा पूर्ति गर्ने मात्रै होइन, उल्टो आफ्ना बलबुतामा निर्मित अर्थतन्त्र निर्माण गर्न सक्ने अवसरको रुपमा पनि यसलाई लिन सकिएला । फेरि दातृ निकायले गर्ने सहयोगमा पनि केही रिभ्यु हुनसक्ने देखिन्छ । त्यसैले विप्रेषण र दातृ निकायको सहयोगलाई भन्दा आन्तरिक उत्पादनलाई जोड दिने गरी प्याकेज दिन सक्नु पर्ने अबको आवश्यक्ता देखिएको छ ।
महामारीलाई लक्षित गरि सरकारले यथेष्ट राहत ल्याउन सकिरहेको छैन भनिएको छ । के गर्न सक्छ यस्तो बेला सरकार ?
सबैभन्दा पहिले त हामीले यसमा राष्ट्रिय सोचको निर्माण गर्नुपर्यो । यो एकदमै जरुरी छ । सबै दलहरूसहितको समझदारीमा एउटा साझा सोच बनाउनु आजको आवश्यकता हो त्यसमा पनि कम्तीमा सरकार चलाइरहेको पार्टीभित्र त कम्तीमा एकमत बनाउनु पर्यो । यस्तो बेला खर्च नहुने पुँजीगत खर्च, सांसद विकासको कोषको खर्च नहुने पैसा मात्रै होइन टयाक्सबाट समेत गरी यस्तो बेला साझा मतका साथ कम्तीमा पनि २÷३ खर्बको राहत प्याकेज घोषणा गर्न सक्छौँ । त्यस्तो राहत निम्न वर्गको जनताको जीवन चलाउन आवश्यक होला । जस्तो हामीले निजी विद्यालयलाई एक महिनाको शुल्क मिनाह गर्न आग्रह गर्यौँ, त्यहाँ पनि रोजगार गरिरहेको मजदुर वर्ग छ । त्यसलाई कसरी सम्बोधन गर्ने होटलहरूलाई कामदारको तलब सुविधा नकाट्न भन्यो तर पर्यटक नआउँदा उसको आम्दानी सुकिरहेको हुन्छ । त्यस्तो अवस्थामा उनीहरूलाई कसरी सहयोग गर्न सकिन्छ आदि विषयमा त्यो राहत प्याकेज लगाउनुपर्ने देखिन्छ ।
त्यस्तै सांसद विकास कोष पैसा पनि यसमा हामी लगाउन सक्छौँ । यद्यपि चालु आर्थिक वर्षमा सो शीर्षकमा अगाडि बढाइएका योजना भने अलपत्र पार्ने गरी त्यो कोष चलाउनु उपयुक्त नहोला । तर दीर्घकालीन रुपमा पनि त्यो रकम दिनुभन्दा प्याकेजमा विकास योजनाहरू अघि बढाउनु राम्रो होला । यस्तो बेला ठूला र मेगा प्रोजेक्टहरू अघि बढेनन् भने पनि मझौलाहरूलाई महत्वका साथ केन्द्र सरकारले हेर्नुपर्यो । गरिब किसान र मजदुर वर्गलाई उत्पादनसँग जाेडिने किसिमका राहत र उत्पादन मैत्री प्याकेज ल्याउनुपर्याे । त्यसका साथै यो बेला सबैभन्दा पहिलो ध्यान चाहिँ यो महामारीसँग कसरी जुध्ने भन्नेतर्फ नै सबैको ध्यान रहनुपर्यो ।
(देवकाेटा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।)
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६