काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएका नागरिकलाई शुक्रबार र शनिबार आफ्नो घर जान दिने निर्णय गरेको छ ।
बिहीबार बसेको कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने निर्णय गरेको हो ।
स्थानीय तहसँग समन्वय गरेर घर जान चाहनेका लागि सरकारले गाडीको व्यवस्थापन गर्ने तयारी गरेको छ । यो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले आन्तरिक तयारी थालेको छ ।
चैत १० गतेदेखि उपत्यकामा रोकिएका व्यक्ति पैदल नै घर फर्किन थालेपछि सरकारले यस्तो निर्णय गरेको समितिका सदस्यहरुले बताएका छन् । समितिले उपत्यकामा भित्रिन भने नदिने निर्णय गरेको छ ।
स्थानीय तहहरुले बाहिरबाट मान्छे प्रवेशमा रोक लगाएको बेला सरकारले उपत्यका छाड्न दिने निर्णय गरेको हो ।
राजधानीमा उपत्यका बाहिरका नागरिक अलपत्र परेको गुनासो बढ्दै गएपछि सरकारले यो निर्णय गरेको भाैतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताए।
सरकार आफैंले अलपत्र परेका नागरिकलाई सम्बन्धित जिल्लाको महत्वपूर्ण राजमार्गसम्म पुर्याउने तयारी गरेको छ । छोटो र लामो दूरीका नागरिकलाई कसरी पठाउने भन्ने विषयमा तयारी भइरहेको नेम्वाङले जानकारी दिए ।
सरकारले पटकपटक समय थप गर्दै वैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६