धादिङका रञ्जित गौली कोभिड–१९ को संक्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्युयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका हुन् । पाँच वर्षअघि अमेरिका आएका गौली अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत छन् ।
कोभिड–१९ को त्रास बढिरहँदा आफूलाई समेत संक्रमण भएपछि केही आत्तिएको तर घरमै सेल्फ आइसोलेसनमा बसेर चिकित्सकको सल्लाहबमोजिमको गतिविधि गरेपछि अहिले स्वस्थ अनुभव गरेको उनले बताए । झण्डै १० दिन कोरोनाविरुद्वको लडाइँमा अन्ततः मैले जित्न सकेँ । यसका लागि आत्मबल बलियो हुनु जरुरी छ । ठूलो औषधि भनेकै सकारात्मक सोच रहेछ , गौलीले भने, मुख्य कुरा म तन्दुरुस्त छु, मलाई सर्दैन भनेर कसैले नसोच्नुहोला र संक्रमण भइहाल्यो भने हेलचेक्र्याई नगर्नुहोला ।
कोरोना लाग्दैमा मरिन्छ भनेर डराइनहाल्न अनुरोध गर्दै गौलीले लागेको खण्डमा पनि घरमै बसेर आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक खाना खाने र चिकित्सकको सल्लाहअनुरुप गतिविधि गर्दा यो रोगमाथि जित हासिल गर्न सकिने आफ्नो अनुभवलाई साटे । सुरुमा ज्वरो आएको, ज्वरोपछि खोकी लागेको, ज्वरो घट्दै नघटेको र विस्तारै दिनहरु बित्दै जाँदा श्वास फेर्न कठिन भएको स्मरण गर्दै गौलीले भने, तर, आफ्नो आत्मबल बढाउँदै चिकित्सकको सल्लाहअनुरुपका गतिविधि गरे, आफूलाई भित्रबाट हार्न नदिन म लागिरहे । अहिले आराम अनुभव गरेको छु ।
आफूलाई कोभिड–१९ को संक्रमण देखिएपछि अरुलाई सर्न नदिनका लागि आफैँले सजगकता अपनाउन पर्ने गौली बताए । तातो पानी प्रयोग गर्ने, घरका सदस्यसँग समेत दूरी कायम गर्ने गर्नुपर्दछ । मैले त रुम नै बेग्लै गरेको थिए , उनले भने, तातोपानीको बाफ लिने गर्थे, श्रीमती र बुबा पनि छ–सात फिट पर बस्नुहुन्थ्यो । मैले सर्न नदिन विशेष ख्याल गरेँ । त्यसैले होला बुबा र श्रीमतीलाई अहिलेसम्म देखिएको छैन । आगामी दिनमा पनि नदेखियोस् ।
उता इङ्गल्याण्डको साउथ इस्ट लण्डनमा कपुरका नामले परिचित पोखराका पद्म राणा पनि कोभिड–१९ को संक्रमणका कारण उपचारपछि घरमै सेल्फ आइसोलेसनमा बसेर अहिले निको भएका छन् । उनी २० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । मैले अस्पतालमा जांच गर्न जाँदा मलाई निमोनिया र कोभिड संक्रमण भएको थियो । तर पनि म अत्तलिन । अस्पतालमा रहंदा पनि मैले आत्मबल कहिल्यै घट्न दिइनँ , उनले कोभिड–१९ संक्रमणपछिको अनुभव साट्दै टेलिफोन सम्पर्कमा भने, कोरोना संक्रमणबाट बच्न ‘ब्यालेन्स डाइट’मा ध्यान दिनुहोस्, तातोपानी, सुप र झोलिलो पदार्थ भएको पोषणयुक्त खाना खान खानुहोस् । साथै सकेमा तातोपानीको बाफ लिन, अझ सकिन्छ भने दिनमा कम्तीमा दुईपटक स्टिम बाथ लिनुहोस् यी सबै घरमै बसेर गर्न सकिन्छ । नियमित ब्यायाम गर्न र अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्किन पनि उहा सबैमा आग्रह गर्छन्।
अमेरिकाको न्यूयोर्क बस्दै आउनुभएकी ४४ वर्षीया नीमा शेर्पाको परिवारलाई नै कोभिड–१९ को संक्रमण देखिएको थियो । श्रीमान्–श्रीमती र दुई छोरासहित चार सदस्यीय नीमाको परिवार घरमै सेल्फ आइसोलेसनमा बसेको थियो । नेपाल सोलुखोम्बुका नीमा २२ वर्षअघि अमेरिका आएकी हुन् । नीमा पेशाले नर्स हुनन् । नर्सिङ पेशामा भएका कारणले पनि आफ्नो परिवारलाई रिकभर गर्न सजिलो भएको उनले बताईन्।
घरमै एकले अर्काको आत्मबल बढायौँ । खोकी र ज्वरोको औषधि सेवन गर्यौँ , उनले भनिन्, लक्षणबाट नै कोभिड सरेको ठानेकी थिएँ, त्यही अनुसार नै मैले आफू र आफ्नो परिवारको शक्ति बढाउनका लागि गर्नुपर्ने काम गर्न थालेकी थिएँ । परीक्षण गरेको पाँच–सात दिनपछि बल्ल रिपोर्ट आएको थियो तर हामी त्यसअघिदेखि नै घरमा आराम गरेर एकले अर्कालाई ‘टेक केयर’ गरी बसेका थियौँ । रिपोर्ट आइपुग्दासम्म हाम्रो अवस्थामा केही सुधार भइसकेको थियो ।
उनले सकभर कोभिड हुन नदिने तर्फ नैं जोड दिनुपर्ने र भैहाल्यो भने पनि परिवारमा हुनुहुन्छ भने छुवाछुत जस्तो गरी होइन बरु एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्दछ, आत्तिनुहुदैंन भनिन् ।
पछिल्लो समयमा आइरहेको तथ्याकंले पनि संक्रमण पछिको रिकभरी रेट बढी देखाएको छ यो सुखद पक्ष भएकाले कोभिड–१९ को संक्रमण भैहाले पनि आफ्नो आत्मबल बढाएर चिकित्सकीय परामर्शमा अगाडि बढ्दा फेरि पहिलाकैं अवस्थामा फर्कर्न सकिने निमाको बुझाई छ ।
अमेरिकाकै न्यूयोर्क निवासी ५० वर्षीय जीवन बम कोभिड–१९ संक्रमणमा परेका थिए । अहिले उनी पनि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई स्वस्थ बनाएका छन् । कैलाली टीकापुरका उनी २० वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । कोभिड–१९ लागिहाल्यो भने पनि सुरुदेखि नै लापरवाही गर्नुभएन, आराम गर्ने, ज्वरो नापिरहने, १४ दिनसम्म घरमा बस्ने, यदि ज्वरो घटेन भने इमर्जेन्सीमा जाने, निमोनिया हुन नदिने, शरीरमा शक्ति बढाउन केही न केही खाइरहने गर्नुपर्छ । बमले आफ्नो अनुभव साट्दै भने, यो बेला आफ्नो आत्मबल बढाउनुपर्छ, आफूलाई कमजोर हुन दिनुहुँदैन ।
सुरुमा ज्वरोको लक्षण देखिएपछि विस्तारै खोकी र स्वासप्रश्वासमा समस्या भयो । मलाई संक्रमण भएको थाहा पाएपछि पनि म आफूलाई निको पार्न सक्छु भन्ने आत्मबलका साथ सेल्फ आइसोलेसनमा बसे , उहा ले भन्नुभयो, कोरोना संक्रमण हु दैमा मरिहाल्छु भनेर पनि सोच्नुहुँदैन । मैले ती सबै सोचिन तर हेलचेक्र्याइ पनि गरिनँ । परिवारका सदस्यहरुबाट टाढा रहे, दूरी बनाए । नियमित चिकित्सकले भनेअनुसार गतिविधि गरे अहिले सुधार भएको अनुभव गरेको छु ।
न्यूयोर्ककै अर्का कोभिड–१९ को संक्रमणमा परेका भोजपुरका शम्भु मोक्तान पनि घरमै सेल्फ आइसोलेसनपछि अहिले आफूले स्वस्थ महसुस गरेको बताउँछन्। पाँच दिन अस्पताल भर्नापछि मोक्तान घरमै सेल्फ आइसोलेसनमा हुछन् । मोक्तान गएको १९ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । कोभिड–१९ को संक्रमण भएको १५ दिनपछि अहिले आफू कोभिड–१९ को संक्रमणले च्याप्नु अघिजस्तै बोल्न, हिँड्न र खान सक्षम भएको मोक्तानले बताए ।
अहिले आफूलाई विभिन्न देशबाट आफ्नो अनुभव साट्न आग्रह गर्दै सम्पर्क गर्ने गरिएको जनाउँदै उनले सुरुआती लक्षणदेखि अस्पतालको उपचार पद्धति र सेल्फ आइसोलेसनमा बस्दा आफूले गरेका गतिविधि बताउने गरेको उल्लेख गरे । सकभर कोभिड–१९ को संक्रमण हुन नदिनका लागि विशेष ख्याल गर्न आग्रह गर्दै उनी यदि कोरोना लागिहाल्यो भने पनि आफ्नो आत्मबल बढाएर चिकित्सकले भनेअनुरुपको कार्य गर्न सबैलाई सुझाव दिन्छन् ।
यस्तै स्पेनको बार्सिलोनामा कोरोना भाइरसको संक्रमणपछि अस्पतालमा उपचार गराई विष्णु रिजाल अहिले घरमा सेल्फ आइसोलेसनमा बसेका छन् । संक्रमणका कारण सिकिस्त बिरामी भएका बार्सिलोनामा बस्दै आएका अर्घाखाँचीका रिजाल आइसीयूमा भर्ना भएका थिए। घरमै आराम गरिरहेका उनी कोरोनाको संक्रमण भएमा उच्च मनोबल राख्न र रोग नलुकाउन सबैलाई आग्रह गर्छन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै जन्मपश्चात मृत्यु शास्वत सत्य हो । तर त्यो सत्यको विरोधमा हामी सङ्घर्षशील रहिरहन्छौँ । सायद यही नै जीवनप्रतिको मोह पनि हो । दुई हप्ता अस्पतालको कष्टकर बसाइपछि घर फर्केको छु अहिले ठिक भएको छु उनले भनेका छन् ।
यस्तै अमेरिका न्यूजर्सीका बेगम पण्डित पनि आफूलाई कोभिड–१९ को संक्रमणको लक्षण देखिएलगत्तै सेल्फ आइसोलेसनमा बसेका थिए । ४७ वर्षका पण्डित लक्षण देखिएलगत्तै आइसोलेसनमा बसेका कारण उनका परिवारका अन्य सदस्यमा कोरोना संक्रमण हुन पाएन । संक्रमण पुष्टि भएपछि घरमै आराम गर्न र गाह्रो भएमा मात्र अस्पतालमा आउन चिकित्सकले सुझाव दिएलगत्तै पण्डित आफू घरमै बसेको बताउँछन् । अहिले घरमै आराम गरिरहेको छु । आराम अनुभव गर्न थालेको छु , उनले भने, कोरोना लाग्दैमा आत्तिहाल्नुपर्ने छैन । यसलाई हल्कारूपमा पनि लिनुहुँदैन । चिकित्सकले भनेअनुसारको गतिविधि गर्दा यो निको हुन्छ । आत्मबल बढाएर रोगविरुद्व लड्ने हो । तर सकेसम्म लाग्न नै दिनुहुँदैन ।
उता अमेरिका म्यासाच्युट्स बोष्टनका राम धिताललाई पनि कोभिड–१९ को संक्रमण भएको थियो । २५ वर्षदेखि अमेरिका बस्दै आएका उनी घरमै सेल्फ आइसोलेसनमा बसेका थिए । अहिले आफूले पूर्ण स्वास्थ्यलाभ गरेको उनले बताए । कोरोनाभाइरस पोजेटिभ देखिएपछि चिकित्सकको सल्लाहमा घरमा बसेर आराम गरे , उनले भने, मेरो पहिलादेखि नै मुटुको समस्या थियो, त्यसले गर्दा अलि चिन्तित थिएँ तर म डराएको थिइनँ, नियमको पालनाले मलाई ठिक हुन्छ भन्ने नै लागेको थियो ।
उनले संक्रमणको अवधिभर आफूलाई तापक्रम बढ्ने र घट्ने भइरहने गरेको सुनाए । उनले घरमा आफू आइसोलेसनमा रहँदा चिकित्सकको परामर्शमा ज्वरो घटाउने औषधि पनि खाए भने घरेलुरूपमा सजिलै गर्न सकिने तातोपानी, बेसार, ज्वानो आदिको प्रयोगलाई तीव्र बनाएको जानकारी दिए । त्यसो त आफ्नै छोरी नर्स र श्रीमती पनि स्वास्थ्य क्षेत्रमै काम गर्ने भएकाले पनि आफूलाई हेरचाह राम्रो भएको उनलाई लागेको छ ।
बेलुकाको समयमा त मैले भिक्स हालेको तातोपानीको बाफ सिरकले छोपेर लिने गर्दथे । बेलुकी खोकी लाग्दा ज्वानोपानी पनि खान्थे । उनले भने, विश्व स्वास्थ्य सङ्गठन वा सिडीसीको गाइडलाइन्समा भएका सुझावको पालनाका साथै नेपालमा प्रचलित घरेलु उपायहरुको अवलम्बन गर्न समेत धिताल सबैमा आग्रह गर्छन् । अहिले पनि क्वारेन्टाइन ‘मेन्टेन’ गरेर घरमै बसेका छौँ । सकभर कोभिड–१९ को संक्रमण लाग्न नैं नदिनेतर्फ सबैको ध्यान हुनुपर्नेमा चिकित्सकको समेत भनाइ छ । कोभिड–१९ लाग्दैमा मरिहालिन्छ भनेर डर पाल्न नहुने बताउँदैं अमेरिका नेपाल मेडिकल फाउन्डेशनका अध्यक्षसमेत रहेका डा सन्तोष सापकोटाले लक्षण देखिए बेलैमा चिकित्सकको सम्पर्कमा जान सबैमा सुझाव दिन्छन् ।
कोभिड–१९ लाई गम्भीरतापूवर्क लिइ सकभर लाग्न नै नदिनेतर्फ जोड दिनुपर्ने बताउँदै डा सापकोटा भन्छन्, रोग लाग्नु भनेको मान्छेको स्वास्थ्यमा असमान्य स्थिति सिर्जना हुनु हो , त्यसैले सकभर लाग्न नै नदिन सचेत बन्नुपर्दछ । यदि लागिहाल्यो भने पनि चिकित्सकको परामर्शमा होम आइसोलेसनमा बसेर पनि निको हुन सकिन्छ, यो निको हुने दर धेरै छ । रासस
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६