काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले १४.२ किलो (पूरै भरी) को सिलिन्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ ।
पछिल्लो केही दिनयता आधा सिलिन्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए ।
उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिन्डर बिक्रीको निर्णय गरेको उनले बताए । बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते अपराह्न १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिन्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सबै कम्पनीका ग्यास भण्डारगृह भरिएर बुलेटमै ग्यास राखिँदै आएको बताए ।
उनका अनुसार देशभरका ५९ ग्यास उद्योगमा करिब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डार गृह भरिएकाले सय बुलेटमा ग्यास राखिएको थियो ।
१ साताअघिसम्म ग्यासको मागअनुसार डिपोमा ग्यास पुर्याउन भ्याइनभ्याइ थियो । तर तीन दिनदेखि ग्यासको खपत नहुँदा डिपोमै राख्नुपरेको छ , उनले भने, आधा सिलिन्डर ग्यास बिक्री हुन थालेपछि उपभोक्ताहरुले ग्यास लिनै मानेका छैनन् ।
ग्यास बिक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहालले काठमाडाैं उपत्यकाका ३० प्रतिशत उपभोक्ताले आधा सिलिन्डर ग्यास लिनै नमानेको जिकिर गरे ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६