कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल वुहान सहर ७६ दिनपछि बुधबारदेखि खुलेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार मध्यरातिदेखि वुहानको लकडाउन हटाइएको हो ।
लकडाउन खुलेसँगै यहाँका मानिसहरुले कुनै विशेष अनुमति बिना नै बाहिर घुम्न पाउने छन् । यो सहरमा १ करोड १० लाख मानिसको बसोबास छ ।
यातायात र बजार खुले पनि विद्यालय तथा प्रान्तीय कलेजको नयाँ सेमेस्टरका कक्षा भने स्थगित नै रहने चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
वुहानलाई महामारी नियन्त्रणका लागि उच्च प्राथमिकता राखिएको र नागरिक पनि सतर्क रहनुपर्ने वुहानका चिनियाँ राजनीतिक परामर्श सम्मेलन प्रमुख हु शुङ्ग्वाङले बताएका छन् ।
प्रमुख हुले नयाँ संक्रमण नदेखिँदैमा भाइरसको जोखिम शून्य भएको मान्न नसकिने बताएका छन् । उनका अनुसार अझै पनि महामारी नियन्त्रण र रोकथाम संकटपूर्ण छ ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६