भरत प्रधान
विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान सहरबाट सुरु भएको कोरोनाको संक्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ ।
इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायतका युरोपेली मुलुकहरुमा कोरोना भाइरसको संक्रमण बढेसँगै युरोपमा रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन् । कोरोनाका कारण युरोपमा मानवीय क्षति बढ्दै गएपछि त्यहाँ रहेका गैरआवासीय नेपालीमा थप संकट निम्तिन सक्ने खतरा बढेको छ । कोरोनाको महामारीका कारण युरोपमा रहेका धेरै नेपाली रोजगारविहीन भएका छन् भने दैनिकीसमेत कष्टकर बन्दै गएको छ ।
कोरोना संक्रमणका कारण युरोपमा मात्रै ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । यसको महामारीबाट विश्वमै सबैभन्दा बढी मानवीय क्षति युरोपमा भएको छ । पछिल्लो समय बढी संक्रमण अमेरिकामा देखिएको छ ।
यो समाचार तयार पार्दासम्म विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभरका २०८ मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । हालसम्म विश्वभर १२ लाख एक हजार ९६४ संक्रमित भएको र ६४ हजार ७२७ को ज्यान गएको वर्ल्डाेमिटरर्सको तथ्यांकले देखाएको छ । तीमध्ये दुई लाख ४६ हजार ६३८ उपचारपछि घर फर्केका छन् ।
पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीका नागरिकको ज्यान गएको छ । त्यहाँं हालसम्म १५ हजार ३६२ को मत्यु भइसकेको छ भने एक लाख २४ हजार ६३२ जना संक्रमित भएको तथ्यांक छ । २० हजार ९९६ उपचारपछि निको भई घर फर्केका छन् ।
इटालीमा कोरोनाको संक्रमण र मृत्युदर भयावह देखिए पनि त्यहाँ रहेका नेपालीहरू भने सुरक्षित नै रहेको गैरआवासीय नेपाली संघ इटालीका अध्यक्ष देव गुरुङले राससलाई जानकारी दिए ।
गुरुङका अनुसार इटालीमा १५ सयको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । यहाँको अवस्था हेर्दा नेपालीहरुको अवस्था चिन्ताजनक नै छ, तर आत्तिइहाल्नुपर्ने अवस्था भने छैन , गुरुङले भने, यहाँ रहेका सबै नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ । कोरोनाको संक्रमणले संकटग्रस्ट इटालीले गत मार्च ४ (फागुन २१ गते) देखि राष्ट्रिय संकटकालको घोषणा गरेको थियो ।
गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोनाका कारण सिङ्गो युरोप नै संकटमा गुज्रिरहेकाले नेपालीहरु पनि उच्च जोखिममा रहेको बताए ।
कोरोना संक्रमणको गति यही स्थितिमा बढिरहे युरोपमा रहेका नेपालीहरुमा थप संकट निम्तिन सक्ने खतरा रहेको उनले बताए । कोरोनाको संक्रमणबाट बच्न उच्च सावधानी र सतर्कता अपनाउन युरोपबासी नेपालीहरुलाई आग्रह गर्दै आचार्यले यो महामारीबाट बच्न र बचाउन संघसमेत संस्थागतरूपमा लागि परेको बताए ।
आचार्यका अनुसार कोरोनाबाट आइपर्न सक्ने सम्भावित संकटलाई मध्यनजर गरेर युरोपमा रहेका नेपालीहरुको राहत र उद्धारका लागि ५० हजार युरो बराबरको आपतकालीन कोष स्थापना गर्ने निर्णय भएको छ । कोरोनाबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गरेर समस्यामा परेका नेपालीहरुलाई उक्त कोषबाट राहत प्रदान गरिने उनले बताए ।
इटालीपछि कोराना संक्रमणका कारण सबैभन्दा बढीले ज्यान गुमाएको अर्को युरोपेली देश हो, स्पेन । कोरोनाका कारण स्पेनमा ११ हजार ९४७ को ज्यान गएको छ भने एक लाख २६ हजार १६८ मा संक्रमण भएको तथ्यांक छ । तीमध्ये ३४ हजार २१९ उपचारपछि घर फर्केका छन् । पछिल्लो तथ्यांक हेर्दा स्पेनमा पनि कोरोना संक्रमणको वृद्धिदर इटालीमा जस्तै तीव्रगतिमा बढिरहेको छ ।
स्पेनमा रहेका लोकगायक राजेन्द्र लम्सालले स्पेनको अवस्था निकै दर्दनाक रहेको प्रतिक्रिया दिए । घरभित्रै बसेको धेरै दिन भइसक्यो, अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनौँ, सर्वत्र कोरोनाको त्रास छ । कतिबेला के हुने हो, केही थाहा छैन , लम्सालले भने । उनका अनुसार उद्योगधन्दा, कलकारखाना, सार्वजनिक यातायात, सहर बजार, होटेल रेष्टुरेण्ट, व्यावसायिक प्रतिष्ठानहरु ठप्प हुँदा दैनिकी कष्टकर बन्दै गएको छ ।
कोरोनाका कारण आक्रान्त बनेको स्पेनमा १० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । स्पेनमा हालसम्म सात नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष दिनेश गुरुङले जानकारी दिए । संक्रमित नेपालीहरुको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको उनले बताए । तीमध्ये एक जना नेपाली उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरसबाट तेस्रो बढी प्रभावित बनेको अर्को युरोपेली मुलुक हो, फ्रान्स । त्यहाँ कोरोनाका कारण सात हजार ५६० को मृत्यु भइसकेको छ भने ८९ हजार ९५३ मा संक्रमण पुष्टि भएको छ । तीमध्ये १५ हजार ४३८ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् । गत सातादेखि फ्रान्समा पनि मृत्युदर र संक्रमण दर बढ्दै गएको छ ।
कोरोनाको महामारीका कारण आक्रान्त बनेको फ्रान्सको स्थिति हेर्दा नेपालीहरु पनि त्रसित रहेको पेरिसमा रहेका स्याङजाका विष्णुबहादुर सारुले बताए । घरभित्रै बसेको तीन साताभन्दा बढी भयो, बजार पूरै ठप्प छ , थापाले भने, अत्यावश्यक कामका लागि स्वीकृति लिएर मात्रै बाहिर जान पाइन्छ । अन्यथा जरिवाना र जेलसम्मको सजाय हुन्छ ।
फ्रान्समा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको गैरआवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीले बताए । नेपालीहरु सुरक्षित रहे पनि जोखिम भने उच्च रहेको उनले बताए । कोरोनाले निम्त्याएको संकटका कारण समस्यामा परेका ३५ भन्दा बढी नेपालीलाई संघले राहतस्वरूप खाद्यान्न सामग्री प्रदान गरेको शाहीले जानकारी दिए ।
फ्रान्समा करिब पाँच हजारको हाराहारीमा नेपालीहरुको बसोबास रहेको दूतावासको अनुमान छ । हालसम्म त्यहाँ रहेका नेपाली सुरक्षित रहेको फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए । नेपालीहरुलाई पर्ने समस्यामा सहयोग र सहकार्य गर्न फ्रान्स र पोर्चुगलको सरकारलाई आग्रह गरिएको र त्यहाँको सरकारले पनि सहयोग गर्ने आश्वासन दिएको राजदूत अधिकारीले बताए ।
त्यस्तै जर्मनीमा हालसम्म ९६ हजार ९२ मा कोरोनाको संक्रमण देखा परेको छ भने एक हजार ४४४ को मृत्यु भइसकेको छ । तीमध्ये २६ हजार ४०० उपचारपछि घर फर्केका छन् । त्यस्तै बेल्जियममा पनि एक हजार २८३ को मृत्यु भइसकेको छ भने १८ हजार ४३१ मा संक्रमण भएको पुष्टि भएको छ । तीन हजार २४७ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् ।
युरोपमै सबैभन्दा बढी नेपालीहरुको बसोबास रहेको बेलायतमा ४१ हजार ९०३ मा कोरोनाको संक्रमण देखा परेको छ । त्यहाँ चार हजार ३१३ ले ज्यान गुमाएका छन् । ती मध्ये १३५ जना उपचारपछि घर फर्केका छन् ।
बेलायतमा हालसम्म आठ नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । तीमध्ये दुई नेपालीको ज्यान गएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले राससलाई जानकारी दिए । आरणका अनुसार हाल दुई नेपालीको उपचार भइरहेको छ भने चार जना उपचारपछि घर फर्किसकेका छन् ।
अन्य १० नेपाली कोरोनाको आशङ्कामा क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए । बेलायतमा रहेका नेपालीहरुलाई उच्च सजगता र सतर्कता अपनाउन विशेष आग्रहसमेत गरिएको उहाँले बताए । उहाँका अनुसार यकिन तथ्यांक नभए पनि बेलायतमा डेढलाख नेपालीको बसोबास रहेको अनुमान छ ।
कोरोनाको महामारी कारण युरोपमा रहेका नेपालीहरुको अवस्था सामान्य रहे पनि जोखिम भने उच्च रहेको नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राईले बताए । युरोपमा रहेका नेपालीहरुले गर्ने कामको प्रकृति हेर्दा धेरै नेपालीमा संक्रमण हुनसक्ने तर नेपालीहरु खुल्न नचाहेका कारण पनि संक्रमितको यकिन तथ्यांक बाहिर नआएको राईको भनाइ छ ।
बेलायतपछि सबैभन्दा बढी नेपालीको बसोबास रहेको मुलुक पोर्चुगलमा दश हजार ५२४ मा कोरोनाको संक्रमण पुष्टि भएको छ । पोर्चुगलमा हालसम्म २६६ जनाले ज्यान गुमाइसकेका छन् । पोर्चुगलमा तीन नेपालीमा कोरोना संक्रमणको आधिकारिक पुष्टि भएको लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । उनका अनुसार संक्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ ।
वाणिज्यदूत हमालका अनुसार अन्य केही नेपालीहरु कोरोनाको आशङ्कामा क्वारेन्टाइनमा रहेका छन् । यहाँ रहेका नेपालीलाई कोरोनाको सम्भावित संक्रमणबाट बच्न र सुरक्षित रहन विशेष सजगता र सतर्कता अपनाउन आह्वान गरिएको हमालले बताए ।
कोरोनाको महामारीबाट बच्न र समस्यामा परेका नेपालीहरुलाई सहयोग र समन्वय गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ पोर्चुगलले विशेष अभियान सञ्चालन गरेको संघका अध्यक्ष तिलकप्रसाद गैरेले जानकारी दिए । संघका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको संयोजकत्वमा ‘टास्क फोर्स’ नै बनाएर समस्यामा परेका नेपालीको राहत र उद्धारका लागि परिचालन गरिएको गैरेले बताए । यकिन तथ्यांक नभए पनि पोर्चुगलमा करिब २५ हजार नेपालीहरुको बसोबास रहेको अनुमान छ ।
बेल्जियममा एक नेपालीलाई कोराना संक्रमण पुष्टि भएको बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले राससलाई जानकारी दिए । राजदूत थापाका अनुसार बेल्जियममा नौ हजारको हारहारीमा नेपालीहरु रहेका छन् । बेल्जियमसहित नेदरल्याण्ड्स र लग्जेम्बर्गमा रहेका नेपालीहरुलाई कोरोनाको संक्रमणबाट बच्नका लागि विशेष सुरक्षा, सर्तकता र उच्च सावधानी अपनाउन राजदूत थापाले आग्रह गरेका छन्।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार संक्रमितको सङ्ख्यालाई आधार मान्ने हो भने कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका बनेको छ । अमेरिकामा कोरोना संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । अमेरिकामा झण्डै तीन लाखमा कोरानाको संक्रमण देखा परेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६