झापा । कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् ।
शनिबार साँझ आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो । स्थानीय इलाका प्रहरी कार्यालयका अनुसार शनिबार अपरान्हदेखि राईको घरबाट आगलागी सुरु भएको थियो ।
आगलागीमा परेकामध्ये झकडबहादुर भने यसअघिदेखि नै मेयर आवास क्षेत्रमा बस्दै आएका थिए । आगलागी भएको थाहा पाएपछि दमक नगरपालिकाको दमकल साथै कनकाई सामुदायिक वनको खानेपानी ट्याङ्की र स्थानीयको पहलमा निभाइएको थियो ।
आगलागीको कारण नखुलेपनि धूमपान सेवन गर्नेका कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।
यता चितवनमा आगलागीबाट घर जलेर नष्ट हुदाँ २ परिवार बिचल्लीमा परेका छन् । शनिबार अपरान्ह ४ चितवनको विकटमा रहेको इच्छाकमना गाउँपालिका–६ तुन्तेषमा कुलबहादुर घर्ती र चन्द्रबहादुर घर्तीको घर जलेर नष्ट भएपछि उनीहरुको परिवार बिचल्लीमा परेका हुन् ।
घरमा रहेको सोलार सर्ट भई दुईवटै घर पूर्णरूपमा जलेर नष्ट भएको स्थानीय यामबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार आगलागीबाट के–कति क्षति भयो यकिन नभए पनि घरमा रहेका खाद्यान्न कपडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
अहिले उनीहरु छिमेकीको घरमा बसेका छन् । वडाध्यक्ष भुपेन्द्र चेपाङले पनि आगलागी भएको खबर आएको बताए । विकटमा रहेका कारण आइतबार मात्र सो स्थानमा पुगी क्षतिको विवरण सङ्कलन गरिने बताए ।
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६