काठमाडाैं । मेडिकल सामग्री लिन चीनको ग्वान्झाओ तथा अस्ट्रेलिया र न्युजिल्यान्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन्।
ग्वान्झाओ गएको वाइडबडी त्यहाँबाट मेडिकल सामग्री लिएर आज बिहान २ः५७ बजे र अस्ट्रेलियाबाट आएको अर्को वाइडबडी जहाज गए राति ११ः१८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका अपरेसन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए।
ग्वान्झाओबाट के–कति सामान ल्याइएको भन्ने यकिन जानकारी आएको छैन। मेडिकल सामग्री लिन निगमको कार्गो उडानको वाइडबडी जहाज बिहीबार बिहान ग्वान्झाओ उडेको थियो। यसअघि चैत १६ गते निगमकै वाइडबडी जहाजमार्फत ग्वान्झाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ।
त्यसैगरी बुधबार निगमको अर्को वाइडबडी जहाज चार्टर्ड उडानमार्फत अस्ट्रेलिया र न्यूजिल्यान्डका नागरिक बोकेर मलेसिया हुँदै अस्ट्रेलियाको शहर ब्रिसवन पुगेको थियो।
निगमले अस्ट्रेलिया गन्तव्यमा पहिलोपटक वाइडबडी जहाजले ऐतिहासिक उडान गरेको उल्लेख छ। निगमको लामो गन्तव्यको यो उडान झण्डै १३ घण्टाको थियो। हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६