काठमाडौं । कान्ति बाल अस्पतालमा कोभिड–१९ को शंका गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियाँलगायत स्वास्थ्य समस्या उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन् । ती १४ मध्ये ११ नेपाली र ३ भारतीय बालबालिका रहेको अस्पतालले जनाएको छ ।
कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण देखिएपछि अस्पतालले ती बालबालिकाको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा स्वाब पठाएर परीक्षण गरेको थियो ।
९ बालबालिकाका घरमा परिवारका सदस्य विदेशबाट फर्किएकाले शंका गरिएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार बिरामीका परिवार र आफन्तका बारेमा विस्तृत जानकारी लिइएको थियो । त्यस क्रममा यी बालबालिकाको परिवारका सदस्य विदेशबाट फर्किएपछि अरुको संसर्गमा नआई ‘क्वारेन्टाइन’ बसेको नपाइएको उनले बताए ।
यी बालबालिका विदेशबाट आएका परिवारका सदस्यसँग चकलेट खाने, नजिक बस्ने पाइएकाले छुट्टै राखेर परीक्षण गरिएको हो, उनले भने ।
सुरुमा आउँदा उनीहरुमा ज्वरो, खोकी, निमोनियाँ, सास फेर्न गाह्रोलगायत समस्या पाइएको थियो । कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण भएकाले बालबालिका, अभिभावकसँगै अस्पताल आउन पनि डराएको उनले बताए । उनले भने, उनीहरुमा सङ्क्रमण नभएको पुष्टि भइसकेको छ र नयाँ बिरामी यस्तो लक्षणका आएका छैनन् ।
सरकारको निर्देशानुसार अस्पतालले कोभिड–१९ का बिरामी आउन सक्ने भन्दै आवश्यक तयारी गरिसकेको छ । अस्पतालमा ‘आइसोलेसन बेड’ तयारी रहेको र यी बिरामीलाई हेर्न चिकित्सकलाई आवश्यक पर्सनल पोटेक्टिभ इक्युपमेन्ट (पिपिई) तयारी रहेको अस्पताल निर्देशक डा पौडेलले जानकारी दिए ।
अस्पतालले विभिन्न निकायबाट आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री जोहो गरेको छ । यी पोशाक बिरामी हेर्नुपर्ने प्रथम प्राथमिकताका कर्मचारीले मात्रै प्रयोग गर्छन् । उनले भने, कतिपय सरकारले दिएको हो भने कति हामीले खरिद गरेको र कतिपय दाताले सहयोग गरेका छन् ।
अस्पतालले बहिरङ्ग विभाग वा आकस्मिक कक्षमा जता आएका बिरामीलाई पनि देखिएको लक्षण र उसको विस्तृत विवरणका आधारमा आवश्यक देखिँदा आइसोलेसनमा राख्ने गरेको छ । कुनै बिरामीका आफन्त कोभिड–१९ को सङ्क्रमण फैलिएको देशबाट आएको छ भने उसको विशेष निगरानी गरिन्छ ।
विदेशबाट आएकासँग नजिक रहेको कुरुवाले जानकारी दिएमा उसलाई ‘आइसोलेसन’ मा राखेर परीक्षण गरिन्छ । परीक्षणको नतिजा पोजेटिभ हुँदा थप उपचार हुन्छ भने नदेखिएमा उसमा देखिएका स्वास्थ्य समस्याको उपचार हुन्छ । यो १४ दिनबीच विदेशबाट परिवारका सदस्य आएको छ भने उसलाई कोभिड–१९ सँग मिल्दो लक्षण देखिँदा शंका गरिन्छ ।
अहिलेसम्म सङ्क्रमण पुष्टि भएका ६ जना विदेशबाट आएकाले पनि नेपालमै बसिरहेका व्यक्तिलाई शंका नगरिएको हो । उनले भने, अहिलेसम्म यहाँको समुदायसम्म सङ्क्रमण फैलिइसकेको छैन ।
मौसम परिवर्तनको समय भएकाले पनि बालबालिकामा सामान्य रुघाखोकी र ज्वरो आउनसक्छ । धेरै अभिभावक भने सामान्य रुघाखोकीलाई पनि कोभिड–१९ को लक्षण हुनसक्छ भनी अत्तालिने गरेका छन् । सामान्य रुघाखोकी र ज्वरोका बिरामीलाई अधिकांश अभिभावकले घरमै प्यारासिटामोल खुवाउन सक्ने उनको सुझाव छ । घरमा खुवाउँदा निको हुँदैन भन्ने लाग्दा पनि आफ्नो नजिकैको स्वास्थ्य संस्थामा जँचाउन सकिन्छ ।
कान्ति अस्पतालले पनि अहिले तत्काल उपचार नगरी नहुने वा ठूलो समस्या आउँदाबाहेक फलोअपका लागि अहिले अस्पताल नआउन बिरामी बालबालिकाको अभिभावकलाई आग्रह गरेको छ । ‘लकडाउन’ मा जिल्ला जिल्लाबाट वा काठमाडौँमा पनि आउन सहज नभएकाले अत्यावश्यक बाहेक अस्पताल नआउन भनिएको हो ।
जुनसुकै बालबालिकामा स्वास्थ्य समस्या देखिँदा ड्युटीमा रहेका चिकित्सकलाई सोध्न सकिने गरी नम्बर तय भएका छन् । अभिभावकले सामान्य रुघाखोकीलगायतका समस्या देखिएकामा ०१४४२७४४९ वा ९८४७३८६२०५ मा फोन गरेर डाक्टरसँग बुझ्न सक्नेछन् ।
त्यस्तै शल्यक्रियासम्बन्धी समस्याबारे अस्पतालमा ४४४३१३१ वा ९८४७३८६१५० नम्वरमा फोन गरेर बुझ्न सकिनेछ । उनले भने, फलोअपका लागि बालबालिका ल्याउनुपर्दा पनि अभिभावकले पहिले यी नम्बरमा फोनबाट बुझेर आवश्यक भएमात्रै ल्याउन सक्नुहुन्छ । अस्पतालका प्रशासकीय अधिकृत गंगाराम गिरीले अस्पतालमा जुनसुकै समयमा सङ्क्रमित बालबालिका आउन सक्ने भनी तयारी अवस्थामा रहेको जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६