अस्ट्रेलियाको न्यु साउथ वेल्समा ३ महिना लामाे लकडाउन घाेषणा गरिएकाे छ । न्यु साउथ वेल्सका प्रहरी कमिसनर मिक फुलरले अहिले जारी रहेको लकडाउन जुन २७ सम्म जारी राखिने बताएका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चालिएको कदमले सकारात्मक नतिजा दिइरहेको भन्दै प्रशंसा भइरहेको बेलामा न्यु साउथ वेल्सले यस्तो निर्णय गरेको हो ।
यो अस्ट्रेलियाको कोभिड–१९ बाट सबैभन्दा प्रभावित क्षेत्र हो । बुधबार यो क्षेत्रमा १ सय १६ नयाँ संक्रमित फेला परेका थिए । यससँगै समग्र संक्रमितको सङ्ख्या २ हजार २ सय ९८ पुगेको थियो ।
फुलरले आफू उक्त समय सीमापछि भने यो लकडाउन नलम्ब्याउने पक्षमा रहेको बताएका छन्।
अहिले न्यु साउथ वेल्सका मानिसलाई अस्ट्रेलियामा सबैभन्दा कठिन प्रतिबन्ध लगाइएको छ । लकडाउन उल्लंघन गरे तत्काल प्रतिव्यक्ति १ हजार डलर जरिवाना लगाउन पाउने अधिकार प्रहरीलाई दिइएको छ ।
अधिकतम जरिवाना ११ हजार डलर र ६ महिनाको जेल सजाय तोकिएको छ । यहाँका मानिसलाई घरबाट बाहिर निस्किन कानुनले नछेकेको कामको कारण चाहिन्छ । काम, पढाइ, सपिङ तथा खाद्यान्नको लागि भने प्रतिबन्ध लगाइएको छैन ।
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६