काठमाडौं । चन्द्र र सूर्य अंकित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज आज अस्ट्रेलिया उड्दै छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अस्ट्रेलियाको सहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ ।
निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुने छ ।
वाइड बडी जहाजले अस्ट्रेलिया र न्यूजिल्यान्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेसन विभाग प्रमुख दिपु जहार्चनले बताए ।
उनले ६ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २ सय ५० यात्रुसहितको यस अद्वितीय उडान फेरि क्वालालम्पुर हुँदै बिहीबार राति नेपालमा अवतरण गर्ने तालिका रहेको जानकारी दिए ।
वाइड बडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दै छ ।
चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।
यसअघि निगमको वाइड बडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको थियो । हाल २ वाइड बडी ए–३३० र २ थान न्यारोबडी ए—३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६