काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।
बजार दरभन्दा ४ गुणासम्म महँगो मूल्यमा कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरिएको भन्दै पौडेलले अख्तियारमा उजुरी दिएका हुन् ।
विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालका र्यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको भन्दै पौडेलले छानबिनको माग गर्दै उजुरी दिएका हुन् ।
मिडिया अनि आमनागरिकले प्रश्न उठाइरहँदा पनि स्वास्थ्य मन्त्री अनि प्रधानमन्त्रीबाट जवाफ दिन नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शंका उब्जिएको विवेशीलले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्यापिड टेस्टिङ किट ७ करोडभन्दा बढीको लागतमा किनेको कुरा समेत मिडियामा आइसकेको भन्दै विवेकशीलले यी विषयमा छानविन गर्न आग्रह गरेको हो ।
प्रदेश सांसद पौड्यालले अख्तियारको वेबसाइट मार्फत उजुरी दिएको र अख्तियारको प्रवक्तासँग यसबारे कुरा गरी उजुरी दर्ता भएको जानकारी समेत लिइसकेको विवेकशीलले जनाएको छ ।
प्रदेश सांसद् पौड्यालले ३ महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको, बजार दरभन्दा ४ गुणासम्म महँगो पर्ने गरी मेडिकल सामग्री खरिद गरिएको, खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको आरोप मन्त्री ढकालमाथि लगाएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६