पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका ८ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।
उनीहरुमध्ये १ जनालाई गएकाे २ हप्तादेखि निरन्तर ज्वरो आएको थियो । स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
उनीहरुमा संक्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए ।
संक्रमितमध्ये १ बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये २ जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ ।
त्यही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य ५ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा काेराेनाकाे संक्रमण देखिने नेपालीको सङ्ख्या ९ पुगेको छ ।
पछिल्लो समय कोरोनाको संक्रमण नेपालीमा पनि देखिन थालेकाले सजग भएर बस्न एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आग्रह गरेका छन् । उनले सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गरेका छन् ।
पाेर्चुगलमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ७ हजार ४ सय ४३ पुगेकाे छ भने १ सय ६० जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६