काठमाडौं । सरकारले नयाँ वर्ष २०७७ सालमा संघीय सरकारले दिने सार्वजनिक बिदाको सूची नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।
२०७७ सालमा ६४ दिन सार्वजनिक बिदा हुने भएको छ । उक्त सूचीअनुसार वर्षभरीमा ५२ वटा शनिबार सार्वजनिक बिदा हुने छ । त्यस्तै, नयाँ वर्ष (वैशाख १), मजदुर दिवस (बैशाख १९), बुद्ध जयन्ती (बैशाख २५), संविधान दिवस (असोज ३), दशैं बिदा (कात्तिक ७ देखि ११), तिहार बिदा (कात्तिक २९ देखि मंसिर १) सम्म हुने छ ।
त्यस्तै, महिला दिवस (फागुन २४ गते), शिवरात्री (फागुन २७ गते) तथा फागुपूर्णिमा (चैत १५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा) बिदा हुनेछ । यसो गर्दा बिदा कुल ६७ दिन हुन जाने भए पनि संविधान दिवस, दशैं र तिहारमा १/१ दिन शनिबार पर्ने भएकोले कुल बिदा ६४ दिनमा सीमित हुन लागेको हो ।
धर्म संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि पनि सार्वजनिक बिदा दिने उल्लेख छ । यसबाहेक, काठमाडौं उपत्यकामा गाईजात्रा (साउन २० गते), इन्द्रजात्रा (भदौ १६ गते, घोडेजात्रा (चैत २९ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ । हरितालिका तिजमा भदौ ५ गते महिलालाई बिदा दिइनेछ ।
हेर्नुस् राजपत्रमा प्रकाशित बिदाकाे सूचीः
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६