कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण सोमबारसम्म ७ लाख ३९ हजार व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
विभिन्न मुलुकबाट एएफपीलाई उपलब्ध तथ्यांकअनुसार सोमबार साँझसम्ममा ३५ हजार १५ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
संक्रमणका कारण विश्वभर विगत २४ घण्टामा मात्रै १ हजार ४९ जनाको मृत्यु भएको अमेरिकास्थित जोन हकिन्स विश्वविद्यालयले सोमबार जानकारी गराएको छ ।
पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण अमेरिकामा अत्यधिक बढेको दखिएको छ । २ हप्ता पहिले अमेरिकामा छिटफुटरूपमा संक्रमण भेटिने गरेकोमा यो संख्या गत हप्ताको अन्त्यतिर अत्यधिक बढेको थियो । अमेरिकाले गत हप्ता अत्यधिक व्यक्तिको संक्रमण परीक्षण भएका कारण संख्या अत्यधिक बढेको जनाएको छ ।
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म १० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ भने ९७ हजार ६ सय ८९ व्यक्ति संक्रमित भएका छन् ।
स्पेनमा ८५ हजार १ सय ९५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने ७ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८१ हजार ४ सय ७० संक्रमित भएकोमा ३ हजार ३ सय ४ व्यक्तिको मृत्यु भएको छ । चीनमा पछिल्ला केही हप्तादेखि मृत्युदर एकल अङ्कमा रहने गरेकोे छ ।
चीनमा विगत २४ घण्टामा थप ३१ जना संक्रमित भेटिएका र अधिकांश विदेशबाट चीन आएका व्यक्ति छन् भने यो अवधिमा ४ जनाको मृत्यु भएको छ । चीनले यसअघि नै छिटफुट घटनाबाहेक कोरोना संक्रमण नियन्त्रणमा आइसकेको बताएको छ ।
जर्मनीमा संक्रमित ६३ हजार ७९ पुष्टि भएको छ भने ५ सय ४५ जनाको मृत्यु भएको छ । इरानमा ४१ हजार ४ सय ९५ संक्रमण र २ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ ।
फ्रान्समा ४० हजार १ सय ७४ व्यक्तिमा संक्रमण, २ हजार ६ सय ६ जनाको मृत्यु, बेलायतमा १९ हजार ५ सय २२ व्यक्तिमा संक्रमण, १ हजार २ सय २८ जनाको मृत्यु भएको छ ।
एसियाली मुलुकहरूमा चीन र इरानबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी संक्रमितको संख्या ९ हजार ६ सय ६१ छ भने १ सय ५८ जनाको मृत्यु भएको छ ।
जापानमा १ हजार ८ सय ६६ व्यक्तिमा संक्रमण र ५४ जनाको मृत्यु भएको छ । दक्षिण एसियामा सबैभन्दा बढी संक्रमित पाकिस्तानमा १ हजार ५० संक्रमित छन् भने २० जनाको मृत्यु भएको छ ।
भारतमा १ हजार ७१ जना संक्रमित छन् भने २९ जनाको मृत्यु भएको छ । दक्षिण एसियाली अन्य मुलुकमा भने संक्रमितको संख्या न्यून छ ।
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६