काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण नेपाल सरकारले पूरै देशलाई लकडाउन गरेको एक हप्ता पुग्दै छ । अहिलेसम्म ५ जना कोरोनका बिरामी भेटिएका छन्, जसमध्ये १ जना निको भएर घर पनि फर्किसकेका छन् । थप परिस्थिति नबिग्रियोस् भन्ने हेतुले हप्ता दिन पुग्न २ दिन बाँकी रहदै अर्को हप्ताका लागि देश पुनः लकडाउनमा गएको छ ।
पहिलो पटक लकडाउनको घोषणा गर्दै गर्दा सरकारले भनेको थियो– लकडाउनको अवधिमा पनि दैनिक उपभोग्य सामानका पसलहरु, औषधि पसलहरु, तरकारी फलफूल र दूधको कारोबार गर्ने पसलहरु सुरक्षाको सावधानीसहित खुल्ला रहने छन् ।
स्वास्थ्य सेवा उल्लेख्य र विश्वसनीय अवस्थामा नभएको हाम्रो जस्तो मुलुकका लागि लकडाउन जनता बचाउने सबैभन्दा उपयुक्त कदम हो । स्वास्थ्य सेवा मजबुत भएका मुलुकहरु समेत कोरोनाको कहर रोक्न नसकी घुँडा टेकिरहेका बेला हामीसँग जनता बचाउने योभन्दा अर्को विकल्प छैन ।
तर दैनिक उपभोग्य वस्तु र औषधिको आयात निर्यात र बिक्री वितरणमा समेत असहज परिस्थिति सिर्जना भए फेरि अर्को भयावह अवस्था आउन सक्छ । त्यसैले आफैले गरेको घोषणाविरुद्ध भइरहेका कामहरुलाई अनुगमन गरी सरकारले आफ्नो उपस्थिति सशक्त बनाउनुपर्ने देखिएको छ ।
प्रहरी नै बन्द गराउँछ अत्यावश्य पसलहरुः
एउटा बिडम्बना के भने लकडाउनको बेला अत्यावश्यक सेवाका पसलहरु सुरक्षा सावधानीसहित खुल्ला रहने भनिएकामा जानेर हो या नजानेर प्रहरी आफैँले डण्डा लगाएर किराना पसलहरु बन्द गरिरहेको पाइएको छ ।
प्रहरीका भिन्नभिन्न अधिकारीहरु गाडीमा साइरन बजाउँदै कहिले किराना पसलहरु बन्द गर्न भन्छन् । कहिले बेलुका मात्रै खोल्नु भनेर जान्छन् । आपूर्ति मन्त्रालयले सायद यस्तै दुविधाका बीच होला बिहान र बेलुका मात्रै केही घण्टा खानपिनका सामान बिक्री गर्ने पसलहरु खोल्न भनेको छ ।
त्यति हुँदा पनि न प्रहरी त्यो अनुसार गरिरहेको न व्यापारीहरु नै । यस्तो अत्यावश्यकीय सेवाको व्यापारमा रहेका व्यापारीहरु पनि आफू खुसी गरिरहेका भेटिन्छन् । कोही दिनभरी खोलिरहेका छन् त कोही दिनभर बन्द गरिरहेका देखिन्छन् ।
विज्ञहरुको सुझावलाई अधार मान्दा यस्ता सामग्रीको व्यवसाय गर्ने पसलहरु अरुबेलाको भन्दा पनि बढी समय खोल्नुपर्ने हो । किन कि धेरै समय खोल्दा कम्तीमा पालैपालो ग्राहकलाई सेवा दिन सकिन्छ । एकैपटक मात्रै खोल्दा पसलमा भिड भएर भाइरसको महामारी सर्ने संकट हुन सक्छ ।
सरकारले यस्तो अव्यवस्थित र मनलाग्दी भइरहेको यो अवस्थालाई तत्काल अनुगनमन गरी सुरक्षा सावधानीसहित सहज र सुचारु बनाउनु पर्यो । कम्तीमा यो पहिलो हप्ता भएका कारण जसोतसो मानिसहरुले जोहो गरे । तर अब अर्को एक हप्ताका लागि हिजै घोषणा गरिसकिएको छ भने यो अवस्था अझै लम्बिन सक्ने पनि देखिन्छ ।
त्यस्तो अवस्थामा अहिलेदेखि नै आपूर्ति व्यवस्था सहज बनाइएन र बिक्री वितरणलाई सुरक्षित र व्यवस्थित गरिएन भने भोलि धानिनसक्नु अवस्था आउने र्फ सचेत हुनुपर्यो ।
यो बीचमा खानेपिनेका समानहरुको मूल्य आकासिएको छ । सरकारका अधिकारीहरुले केही थाहा पाएको नपाएझैँ गरी सबै कुरा ठिकठिक चलिरहेको बताइरहेका छन् । तर स्थिति कति भयावह भइसकेको छ भने अरुबेलाको भन्दा १० गुणासम्म खाद्यान्न सामग्रीमा मूल्यवृद्धि भइरहेको छ ।
यहाँ सरकार साँच्चिकै आफू भएको आभास जनतालाई दिलाउन चाहन्छ भने कम्तीमा निकट भविष्यमा भाइरसका कारणभन्दा पनि उपभोग्य सामग्रीका कारण आउन सक्ने संकटको ख्याल गरी समयमै आफ्नो जिम्मेवारी निर्वाह गरोस् ।
बन्द छ औषधिको उत्पादन र बिक्री वितरणः
लकडाउनका घोषणामा सरकारले अत्यावश्यक सामग्रीहरुको उत्पादन, आपूर्ति र बिक्री वितरण सबै सहज अवस्थामै चल्ने भनी उल्लेख गरेको थियो । त्यसमा पनि खासगरी औषधि अत्यावश्यकीय सामग्रीभित्र पर्दछ । अरु सामग्रीहरुको आपूर्ति व्यवस्था र बिक्री वितरण असहज भए पनि औषधिजन्य पदार्थको उत्पादन र बिक्री वितरण भने जस्तोसुकै संकटको बेला पनि सहज भइराख्नुपर्छ ।
अब अर्को महत्वपूर्ण के हो भने औषधिजन्य पदार्थको उत्पादन र बिक्री वितरणमा सहभागी भइरहेकाहरुले के बुझ्न आवश्यक छ भने उनीहरुले अँगालिरहेको रहेको पेसा असाधारण हो र उनीहरुलाई अन्यको जसरी ढोका थुनेर बस्ने सुविधा हुँदैन ।
सहजतामा मात्रै व्यापार गर्ने भए औषधिको व्यापार किने गर्ने अन्य जुनसुकै नाफाको व्यवसायमा लागे भइहाल्यो । यो व्यवसायीको हकमा मात्रै होइन, त्यस्तो व्यवसायलाई आफ्नो पेसा बनाई जीविकोपार्जन गर्ने मजदुर प्रोफेसनलहरुले पनि यो असाधारण अवस्थामा असाधारण कामको जिम्मेवारी सम्झी नियमित आपूर्ति र बिक्री वितरणको काममा लागिरहनु पर्छ । सावधानी र सुरक्षाको मामलामा उनीरुलाई व्यवसायी र सरकार दुवैले ढुक्क गराउनुपर्छ तर कामै रोकेर घर बस्ने छुट उनीहरुलाई छैन ।
यहाँ औषधि उत्पादनमा लागिरहेका व्यवसायीहरु आफ्नो उत्पादन नियमित गर्न खोजिरहेका छन् । तर त्यहाँ काम गर्ने मजदुर र तिनका संगठनहरुले सरकारले लकडाउन गर्नूपूर्व नै बन्दको घोषणा गरी घर बस्ने एकपक्षीय निर्णय गरेका छन् । औषधि व्यवसायीहरु आफ्नो कारखाना सुचारु गर्दै औषधिको बिक्री वितरणको चेन सुचारु भइराखोस् भन्ने चाहन्छन् । तर बिक्री वितरणमा संलग्न मजदुर र तिनका संघसंगठनरुले सरकारले लकडाउनको घोषणा गर्नुपूर्व नै घर बस्न उर्दी गरिसकेका छन् ।
उनीहरुका संघ संगठनहरुले एकातिर काम छोडेर घर बस्न आफ्ना सदस्य कर्मचारीहरुलाई उर्दी जारी गरिसकेका छन् भने अर्कातिर त्यसरी बिदा बसेको बेलाको मात्रै होइन संकटको समेत सम्बोधन हुने गरी सेवा सुविधा दिन भनी सञ्चालकहरुसँग माग समेत गरिसकेका छन् ।
पहिलो कुरा त यो संवेदनशील क्षेत्र हो । यो कहिल्यै बन्द गर्न मिल्दैन । अर्को आफ्नो संवेदनशील पेसाको समेत खयालै नगरी बन्द गर्ने तर सेवा सुविधा चाहिँ सामान्य अवस्थाको भन्दा बढी चाहिने माग आफैँमा हास्यास्पद र जनविरोधी पनि छ ।
यतिबेलासम्म विगतकै उत्पादित औषधिको मौज्दात बाँकी छ । त्यसैले अवस्था सामान्य जस्तै देखिएको छ । तर यदि विगतको उत्पादनको मौज्दात सकिँदै गए र औषधिको संकट उत्पन्न भए त्यसपछिको अवस्था के होला ? यसको आँकलन न सरकारले गरेको देखिन्छ न यस्तो व्यवसायमा संलग्नहरुले नै आफ्नो पेसाको संवेदनशीलतालाई बुझेको देखिएको छ ।
पेसामा संलग्न कर्मचारी र मजदुरहरुले त आफ्नो सजिलोका लागि निर्णय लिए । उनीहरुले न आफ्नो पेसागत धर्म राखे न जनताको स्वास्थ्यकै ख्याल गरे । तर सरकार त कुनै पनि बहानामा आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन नि । यस्तो संकटको बेलामा आफ्नो पेसाको मर्यादा, जिम्मेवारी र धर्म नबुझ्ने ती चिकित्सक हुन् कि औषधिको उत्पादन र बिक्री वितरणमा संलग्न मजदुर कर्मचारी नै किन नहुन्, ती सबैलाई कानुनको सहायताले काममा लगाउनुपर्छ । त्यो सम्भव नभए उनीहरुलाई पुनः त्यस्तो पेसामा फर्कन नपाउने गरी कारबाही गर्नुपर्छ ।
यसको मतलब उनीहरुको पनि स्वास्थ्य संवेदनशीलतामा सरकार गम्भीर हुनुपर्छ । उनीहरुको सुरक्षा सावधानीमा सरकार लाग्नुपर्छ । असावधानीसहित उनीहरु पेसामा लागिरहनुपर्छ त्यो कदापि कसैले पनि भन्न मिल्दैन पनि । तर हरबेलामा आफ्नो आफ्नो पेसाको मार्यादा र संवेदनशीलता हुन्छ । त्यसको ख्याल सबैले गर्नुपर्छ । यदि सम्बन्धित पेसेवरहरुले त्यो गरेनन् भने सरकारले बल प्रयोग गरेर भए पनि त्यो सूचारु गराउनु पर्छ ।
जस्तो युद्धको बेला सेना, शान्ति सुरक्षाको अवस्था कायम गराउन प्रहरी लाग्छ त्यस्तै यस्तो बेला औषधिको उत्पादन र बिक्री वितरण गर्ने पेसेवरहरु पनि आफ्नो पेसामा निरन्तर लागिरहनुपर्छ । औषधिको रिटेलर पसलहरु धेरैजसो बन्दको अवस्थामा छन् । प्रवद्र्धनमा संलग्न मात्रै होइन बिक्री वितरणमा लग्ने मजदुर कर्मचारी समेत सबै सरकारको घोषणापूर्व नै घरघरमा बसिसकेका छन् ।
हामीकहाँ यो महामारी ढिलो गरी आएको हो । यस्तो समयको सुविधा पाउँदा पनि समयमा आवश्यक सामग्री खरिद नगरेर संकट आउन दिएको र संकटको सहारामा कमिसन लिएको आरोप वर्तमान स्वास्थ्यमन्त्रीले खेपिरहेका छन् । त्यसको यथार्थ र वास्तविकता के हो त्यो समयले बताउला । तर जसरी समय छँदै बुद्धि नपुर्याउँदा अहिले प्रश्न खडा भएको छ, ठिक त्यसैगरी औषधिजन्य पदार्थको उत्पादन, बिक्री वितरणको चेनलाई समयमै सहज बनाइएन र भोलि अभाव हुँदा फेरि प्रश्नको घेरा अवश्य स्वास्थ्यमन्त्री र जिम्मेवार निकायमा लाग्ने छ ।
त्यसैले कम्तीमा अहिले अभाव नहुँदै औषधिको चेनलाई सुचारु बनाउन सरकारका जिम्मेवार निकायहरु संवेदनशील भएर लागिहाल्नुपर्छ । नभए भोलि कोरोनाले त के गर्छ थाहा छैन औषधिको अभावमा अन्य रोगका बिरामीहरुले भने अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्छ ।
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६