काठमाडौँ । सूदुरपश्चिम प्रदेशको धनगढी तथा प्रदेश १ को विराटनगरका लागि स्वास्थ्य सामग्री लिएर उडेको नेपाली सेनाका २ वटा स्काई ट्रक बीच बाटाेबाटै फर्किएको छ ।
सरकारले आइतबार चीनबाट ल्याएको सामान प्रदेश १ र धनगढी लागि लिएर गएको सेनाको विमान त्यहाँ रहेको सामानमाको केमिकलमा शंका लागेपछि बीचबाटै फर्किएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
पिपिई, मास्क, सेनिटाइजरसहितका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान त्यसतर्फ गएको थियो । जहाजभित्र राखिएको स्यानिटाइजरको गन्ध निस्केपछि चालक दलका सदस्यले उडान भरेलगत्तै फर्काएर विमास्थलमा ल्यान्ड गराएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
‘प्राविधिक समस्या’का कारण विमान फर्किएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । फर्किएका २ विमान सामान पुनः प्याक गरेर उड्ने तयारी भइरहेको जनाइएको छ ।
कर्णाली प्रदेशको सुर्खेत स्वास्थ्य सामग्री लिएर गएको स्काइ ट्रकमा भने कुनै समस्या नभएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६