काठमाडौं । नेपालको चर्चित ब्रान्ड बाजेको सेकुवाले चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन गराउने भएको छ ।
कोभिड-१९ का कारण मुलुक लकडाउनमा परेको बेला अहोरात्र खटिरहेका चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन गराउन लागेको हो ।
बाजेको सेकुवाका म्यानेजर सञ्जिव तिमल्सिनाका अनुसार जनता जीउज्यानको सुरक्षामा खटिएका चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन उपलब्ध गराएर सहयोग गर्न खोजिएको हो ।
तपाईं हामी सबैको स्वास्थ्य र सुरक्षाका लागि अहोरात्र खटिरहेका चिकित्सकहरुलाई अस्पतालसम्म निःशुल्क खाना खुवाउने सोच अनुसार यो काम गरिएको हो, तिमल्सिनाले भने, सानै भए पनि यो सहयोगले उनीहरुलाई थप हौसला र प्रेरणा मिल्छ भन्ने विश्वास लिएका छौं । उनका अनुसार जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर भोजन वितरण गर्न लागेको हो ।
तत्कालीन अवस्थामा बाजेको सेकुवाले पाटन अस्पताल, ह्याम्स अस्पताल र केमएसीमा खाना पुर्याउँदै छ । चिकित्सक र सुरक्षाकर्मीबाहेक अत्यावश्यक परेका दैनिक ज्यालादारीमा गुजारा चलाउने मजदुरलाई पनि निःशुल्क खाना वितरण गर्ने उनले जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६