दैलेख । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको संख्या बढेको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण संकलन कार्यलाई तीव्र बनाएको छ । पछिल्लो जानकारीअनुसार भारतबाट दैलेख आउनेको संख्या ९ सय ४ पुगेको छ ।
जिल्लाको आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले नगरपालिकामा ४ सय ५० नागरिक भारतबाट आएको बताए । संख्या अझै बढ्नसक्ने उनको भनाइ छ ।
ज्वरोका बिरामीको संख्या बढेसँगै सर्तकता पनि बढाइएको उपाध्यायले जानकारी दिए । पालिकाका सबै वडामा कीटनाशक औषधि छर्कने, वडा अध्यक्षहरुमार्फत स्वास्थ्य अवस्थाको जानकारी लिने, मास्क लगाउने, घरबाट बाहिर नजाने भन्दै जनचेतना फैलाउने काम तीव्र पारिएको उनले बताए ।
नारायण नगरपालिकामा १ सय ३०, डुगेश्वर गाउँपालिकामा ४७, भगवतीमाई गाउँपालिकामा ३५, चामुण्डा बिन्द्रासैनीमा ४९, गुराँस गाउँपालिकामा २७, ठाँटीकाँधमा १ सय ५६, महावुमा ९ जना भारतबाट फर्किएका छन् । अन्य पालिकाको विवरण अझै आउन बाँकी छ । दैलेखमा ४ नगरपालिका र ७ गाउँपालिका छन् ।
भारतमा रोजगारी गर्नेहरु दैलेखमा धेरै भित्रिएका कारण जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।
जिल्लाको आठवीस नगरपालिकाका एकै परिवारका १६ जनालाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ । परिवारका २ जनालाई निरन्तर ज्वरो आएपछि आइसोलेसनमा राखिएको र परिवारका बाँकी १४ लाई क्वारेन्टाइनमा राखिएको हो । २ जनाको कोरोना जाँचका लागि नमुना पठाइएको छ ।
अन्य सबैलाई पालिकास्तरमा रहेका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्ने निर्देशन जिप्रकाले दिएको भए पनि चुनौती बढ्न सक्ने भन्दै स्थानीयवासी त्रसित बनेका छन् ।
जिल्लाका विभिन्न स्थानमा १ सय ३८ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार ३३ वटा आइसोलेसन शय्या र तीन वटा हाइकेयर युनिट तयार भएकोे छ ।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६