काठमाडाैं । सरकारले नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति सहज रुपमा गरिदिन बिक्रेता र स्टोरहरुलाई निर्देशन दिएको छ ।
काठमाडौँ उपत्यकाभित्रका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर र बिक्रेताले आआफ्ना डेलिभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तु उपभोक्तासम्म पुर्याउन निर्देशन दिइएको हो ।
गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गरिदिन निर्देशन दिएको हो । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले आवश्यक पर्ने डेलिभरी भ्यानलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिलाउने निर्णय पनि गरेको छ ।
पसल तथा स्टोर खोल्ने र त्यहाँ सामान्य अवस्थाको जस्तै खरिद बिक्री हुँदा भीड हुने भएकाले उपभोक्ताको माग लिने, त्यसका लागि पैसा नलाग्ने फोनको व्यवस्था गर्ने र त्यसको प्रचारप्रसार गर्ने सचिवस्तरीय निर्णय भएको हाे ।
अब पसलहरू सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा सुरक्षाको व्यवस्था नेपाल प्रहरीले गर्ने छ भने जिल्ला प्रशासनले डेलिभरी भ्यान, स्टोर तथा पसलका सञ्चालकलाई पासको व्यवस्था मिलाउने छ ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६