काठमाडौं । सरकारले भोलि बिहादेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिले देशभर लकडाउन गर्ने निर्णय गरेको हो ।
भाेलि बिहान ६ बजेदेखि लागु हुनेगरी १८ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय निर्णय गरेको हो । समितिको निर्णय अनुसार हवाइ, यातायात लगायत सबै क्षेत्र बन्द गर्नुपर्ने छ । स्वास्थ्य क्षेत्र र सुरक्षा निकाय भने खुला रहने बताइएको छ ।
समितिले आन्तरिक उडानमा समेत रोक लगाएको छ भने सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ। यसैगरी सो समितिले अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई बिदासमेत दिने निर्णय गरेको छ।
सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक कुनै पनि आन्तरिक उडान सञ्चालन गर्न नदिने निर्णय पनि बैठकले गरेको छ। सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, सञ्चार, भन्सार, क्वारेन्टाइन जस्ता अत्यावश्यक पर्ने कर्मचारी मात्र हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने निर्णय पनि बैठकले गरेको छ।
औषधि, खाद्यवस्तु, दूध र इन्धन जस्ता अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।
सोमबार मात्र काठमाडौंमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६