काठमाडाैं । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ ।
आइतबार सम्पन्न २ महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको सो फोरमको आकस्मिक बैठकले सो महाअभियान सञ्चालन सहित १० बुँदे साझा अवधारणा आज सार्वजनिक गरेको छ ।
फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको जोखिम विरुद्ध उपत्यकाका सबै नगरपालिकाले एकजुट भएर कार्य गर्ने निर्णय भएको जानकारी दिए ।
उनले भने, अहिले उपत्यकाका १८ वटै नगरले संयुक्त रुपमा सो भाइरसको जोखिम विरुद्धको महाअभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ, यसका लागि सबै नगरपालिका एक ठाउँमा उभिएका छौँ ।
सबै नगरपालिकाले आफ्ना नगरपालिकामा सो भाइरसबाट जोगिने उपायसहितका सकारात्मक सन्देश आम नगरवासीमा प्रवाह गर्ने भएका छन् ।
सो भाइरसको आशंका भएका बिरामीको लागि निगरानी कक्ष (क्वारेन्टाइन) को व्यवस्था नगरपालिकाले गर्ने छन् । यसका लागि आआफ्नो नगरपालिका क्षेत्रभित्र रहेका स्कूल, कलेज, होटल तथा गेष्टहाउस र सामुदायिक भवनलगायतलाई अस्थायी क्वारेन्टाइन बनाउने जनाइएको छ ।
बैठकले क्वारेन्टाइनमा रहने स्वास्थ्यकर्मी पूर्ण सुरक्षित रहने गरी सहयोगको व्यवस्थापन गर्ने, सरकारले तोकेको उपचार केन्द्रमा पठाउने र आवश्यक परेमा थप उपचार केन्द्र बनाउन संघीय सरकारलाई आग्रह गर्दै आवश्यक सहयोग नगरपालिकाले गर्ने निर्णय गरेको छ ।
सबै नगरपालिकाले आआफ्नो नगरक्षेत्रमा भीडभाड हुने ठाउँमा पानी ट्यांकी र साबुन राखेर हात धुने व्यवस्था गर्ने जनाएका छन् । बजार अनुगमनलाई तीव्रता दिने निर्णय बैठकले गरेको छ ।
बजार अनुगमनमा क्रममा कालोबजारी गरेको, अत्यावश्यक सामान लुकाएको पाइएमा नगरपालिका आफैँले कारबाही गर्ने र थप कारबाही आवश्यक भए संघीय सरकारलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।
कोभिड–१९ को बारेमा संघीय सरकार एवं विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचना एवं सन्देशलाई मात्रै आधिकारिक मानेर ग्रहण गर्न समेत बैठकले आग्रह गरेको छ ।
त्यसैगरी स्थानीय तह बन्द नगर्ने तर अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने, स्वास्थ्य संस्था बन्द नगर्ने बैठकले निर्णय गरेको छ ।
घरमा रहेका कर्मचारी आवश्यक पर्दा एक घण्टाभित्र नगरपालिकामा आउन सक्ने अवस्थामा राख्ने ,जनप्रतिनिधि सेल्फ क्वारेन्टाइनमा बस्ने, आमनगरवासीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिने र जनप्रतिनिधिले अत्यावश्यकबाहेक सम्पूर्ण भेटघाट बन्द गर्नेजस्ता निर्णय गर्दै साझा अवधारणा सार्वजनिक गरेको फोरमका सचिव श्रेष्ठले जानकारी दिए ।
बैठककाे अध्यक्षता गरेका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न, आइपरेका सङ्कटसँग प्रभावकारी रुपमा जुध्न र सम्भावित संक्रमणलाई रोक्न उपत्यकाका सबै पालिकाले साझा अवधारणा बनाएर एक भएर लाग्ने जानकारी दिए ।
अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२० नरोकिने
त्यसैगरी बैठकले आगामी असोज २१ गतेदेखि २४ गतेसम्म काठमाडौँमा आयोजना गरिने भनिएको अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२० स्थगित नगर्ने भएको छ ।
सम्मेलन आउन अझै ६ महिना बाँकी भएकाले केही समयलाई सम्मेलनको तयारी रोकिए पनि सो भाइरसको जोखिम न्यूनीकरण भएपछि पुनः तयारी तीव्र पारिने निर्णय भएको फोरमका सचिव श्रेष्ठले जानकारी दिए ।
सम्मेलनमा विभिन्न देशका ४ सय १३ नगरपालिकाका नगर प्रमुख, १९ देशका विभिन्न राष्ट्रिय संघसंगठन, १० वटा अन्तर्राष्ट्रिय संगठनसँग सम्मेलनका बारेमा कुराकानी भई पत्राचार भएको बैठकमा जानकारी गराइएको थियो ।
सम्मेलनका लागि भक्तपुरको गठ्ठाघरमा कार्यालय सञ्चालनमा ल्याइएको छ भने सम्मेलनका लागि कूल ३ करोड रुपैयाँ खर्च हुने भएको छ । खर्चको ५० प्रतिशत २ महानगरपालिकाले व्यहोर्ने भएका छन् । त्यसमा पनि २ तिहाइ काठमाडौँ महानगरपालिकाले ब्यहोर्ने र बाँकी ५० प्रतिशत खर्च १६ नगरपालिकाले दामासाहीले व्यहोर्ने भएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६