काठमाडाैं । कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल भित्रिनेको चाप बिस्तारै घट्दै गएको छ । भारतमा लगाइएको जनता कर्फ्युका कारण आइतबार नाकाबाट भित्रिने नेपालीहरुको संख्यामा कमी आएको हो ।
भारतमा कोरोनाको संक्रमण बढेपछि शनिबार मात्रै यो नाकाबाट नेपाली र भारतीय गरी १७ हजार बढी नेपाल भित्रिएका थिए ।
नाकामा २४ सैं घण्टा सुचारु गरिएको हेल्थ डेस्कका कारण पनि नेपाल भित्रिनेको संख्यामा कमी देखिएको सशस्त्र प्रहरीका उपरीक्षक विरसिंह साहुले जानकारी दिए ।
यता, एकै पटक दशौं हजारको संख्यामा नेपालीहरु फर्किएपछि अहिले सीमा नाकामा सुरक्षा व्यवस्था कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । जाँचका लागि नेपाली सेना, सशस्त्र प्रहरी, भीमदत्त नगरपालिका र स्वास्थ्य कार्यालयको टोलीसमेत खटाइएको छ ।
स्थानीय प्रशासनले गड्डाचौकीबाहेक जिल्लाका अरु नाका पूर्ण रुपमा बन्द गर्नुका साथै भारतीय नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
गड्डाचौकी नाकाबाट फागुन २३ गतेदेखि शनिबार रातिसम्म ६३ हजार १ सय ८५ जना नेपाली नेपाल भित्रिएका छन् ।
यसैगरी जनता कर्फ्युका कारण पश्चिम बंगलासँग सीमाना जोडिएको पूर्वको काँकडभिट्टा नाका पनि सुनसान भएको छ ।
भारतको पानीट्यांकी नाका बिहानैदेखि ठप्प भएपछि नेपालबाट भारत जाने र उताबाट आउने क्रम रोकिएको छ । नाकामा सीमित प्रहरी र स्वास्थ्यकर्मीमात्रै छन् । सर्वसाधारणको आवागमन ठप्प छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोख्रेलले बिहानैबाट पूर्वी नाका ठप्प भएको जनाए ।
नाका बन्द हुँदा कोरोनाको संक्रमण भित्र्न नसक्ने भन्दै झापाका विभिन्न संघ संस्था र नागरिक समाजले केही दिन नाकाबन्द गर्न आग्रह गरेका छन् । मेचीनगरका मेयर विमल आचार्यले नाकाबन्द गर्न सरकारलाई आग्रह गरिसकेको जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६