काठमाडाैं । काठमाडाैंकाे नर्भिक अस्पतालमा कोराेना भाइरसका बिरामी रहेकाे भन्दै भ्रामक अडियाे रेकर्ड गरेर अफवाह फैलाउने युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।
कोभिड–१९ को संक्रमणका कारण विभिन्न अस्पतालमा धेरै जना बिरामीको मृत्यु भइसकेको भन्दै सामाजिक सञ्जालमा अडियो सेयर गरेका रामेछाप घर भई भक्तपुरको सीताडोलमा डेरा बरी बस्ने २० वर्षीय विवेक थापा मगरलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
उनले कोरोना भाइरसका कारण त्रिवि शिक्षण अस्पताल र नर्भिक अस्पताल लगायतका केही अस्पतालमा बिरामीको मृत्यु भइसकेको र उक्त सूचना सरकारले लुकाएको भन्दै अडियो म्यासेज बनाएर ‘फेसबुक म्यासेन्जर’ लगायतबाट विभिन्न व्यक्तिलाई पठाएका थिए ।
सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ९ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना भाइरस देखिएको भन्दै भ्रामक अडियो प्रसारण भएको थियो ।
उक्त सन्देशका सन्दर्भमा नर्भिक र त्रिवि शिक्षण अस्पतालले विज्ञप्ति मार्फत आफ्नो अस्पतालमा हालसम्म कोरोना संक्रमित बिरामी नरहेको र कसैको मृत्यु नभएको स्पष्ट पारिसकेका छन् ।
पक्राउ परेका युवकलाई साइबरअपराध अन्तर्गत मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ । यदि उनले साइबर अपराध गरेको ठहरिएमा उनलाई १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा १ वर्ष कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।
यसैबीच, कोरोना भाइरसबारे अफवाहपूर्ण अडियो भाइरल बनाउने थापा झोर्ले न्युज डट कमका सम्पादक रहेको प्रहरीले जानकारी दिएको छ ।उनको वेबसाइट सूचना विभाग वा अन्य कहीँ दर्ता भने भएको छैन ।
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६