काठमाडौँ । नेपालमा कोरोना देखिएको भनी सामाजिक सञ्जालमा भाइरल बनेको भ्रामक अडियोका विषयमा नेपाल प्रहरीको साइबर ब्युराेले अनुसन्धान थालेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले अडियोका विषयमा ब्युराेबाट अनुसन्धान थालिसकिएको जानकारी दिए । प्रहरीले अडियो रेकर्ड गरेर सार्वजनिक गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।
एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ । अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ । उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा अहिले आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको छ ।
उक्त अडियोमा नेपालमा कोरोना लागेको भनेर भ्रामक प्रचार गरिएको छ । प्रहरीले गलत हल्लाका पछि नलागी नेपाल सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्नसमेत भनेको छ । नेपाल सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारवाही गर्ने जनाइसकेको छ ।
यसैबीच, नर्भिक अस्पतालले कोरोना भाइरसका बिरामी भेटिएको भन्ने समाचार गलत भएकाे बताएकाे छ । अस्पतालले शनिबार निकालेको विज्ञप्तिमा नर्भिक अस्पतालमा कोरोना संक्रमित भेटिएको भन्ने कुरा गलत भएको उल्लेख छ ।
नर्भिक अस्पतालमा उपचार गराइरहेका ६ जनामा कोरोना संक्रमण भेटिएको अडियो फेसबुक लगायत सामाजिक सञ्जालमा आएपछि अस्पतालले त्यसको खण्डन गरेको हो ।
विज्ञप्तिमा अफवाह फैलाउने जाे सुकै व्यक्ति भए पनि कारबाही गर्न माग गरिएको छ । ‘जटिल एवं संवेदनशील समस्याका बेला भ्रामक सन्देश फैलाउने व्यक्तिलाई कडा कारबाही हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६