काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भारतका सबै सहरमा गरिरहेको उडान रोकेको छ ।
निगमले भारतको नयाँ दिल्ली, मुम्बइ र बैंगलोरमा गर्दै आएको नियमित उडानहरु स्थगित गरेको हाे । निमगले चैत ९ देखि लागू हुने गरी उडान स्थगित गरेको हो ।
भारतको डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसनबाट कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडान बन्द गरिएको निगमले जनाएको छ ।
यसअघि भारतले २२ तारिखबाट सबै अन्तर्राष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्णय गरेको थियो । सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय सहरमा गरिरहेको उडान रोक्ने निर्णय लिएको हो ।
यसअघि नेपाल एयरलाइन्सले दिल्ली उडान घटाएको थियो । पछिल्लो निर्णयसँगै निगमका अधिकांश उडान रद्द भएका छन् ।
चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने निगमले जनाएको छ ।
निगमले यसअघि नयाँ दिल्लीको उडान संख्या घटाएको थियो भने कतार, मलेसियालगायतका गन्तव्य उडान स्थगित गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६