विराटनगर । काेराेना भाइरसकाे त्रासका कारण १ नम्बर प्रदेशसभाकाे बैठक अनिश्चितकालका लागि स्थगित भएकाे छ ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नभएसम्म बैठक स्थगन भएको जानकारी दिएका हुन् ।
प्रदेशसभाको चालू अधिवेशन २०७६ माघ २३ गते सुरु भएर आज २२औँ बैठक सम्पन्न भएपछि सभामुख भण्डारीले सदन स्थगित गरेका हुन् ।
प्रदेश वातावरण विधेयक पारित
चालू अधिवेशनमा सदन विभिन्न विधेयक पेस भए पनि आज ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसम्मतिले पारित भएको छ ।
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव सदनमा पेस गरेका थिए ।
प्रदेश १ का बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफल आज समाप्त भएको छ ।
सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा सामाजिक विकास राज्यमन्त्री जशमाया गजमेरले बालबालिकाको अधिकारलाई व्यवस्थित गर्न विधेयकले भरपूर मद्दत गर्ने बताइन् ।
बालगृह, बालआवास तथा भ्रुण हत्याजस्ता विधेयकमा स्पष्ट व्यवस्था भएकाले प्रारम्भिक बालबालिकाको उमेर ५ वर्ष कायम गरिएको उनले बताइन् । सैद्धान्तिक छलफलमा १० सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६