काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणबारे जनचेतना फैलाउनको लागि कल ब्याक रिङ टोनमा सचेतना सन्देश दिन थालेको छ ।
कसैलाई पनि नेपाल टेलिकमको नम्बरमा फोन डायल गर्दा फोन नउठेसम्म कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश पाउन सकिने गरि सिआरविटी परिवर्तन गरेको टेलिकमले जनाएकाे छ ।
फाेन गर्दा कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षण, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपाय र अपनाउनु पर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरूका बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।
साथै यससम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरसमेत यहीबाट थाहा पाउन सकिने टेलिकमको विज्ञप्तिमा उल्लेख छ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भन्दै बुधबार अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन, २५ जनाभन्दाबढी मानिस भेटघाट गर्न, सिनेमा हल, रंगशाला, जिमखाना लगायत भिडभाड हुने स्थान बन्द गर्न निर्देशन दिइसकेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६