काठमाडाैं । कोरोना भाइरस काेभिड-१९ नियन्त्रण/रोकथामका सन्दर्भमा केन्द्रित रही मानवअधिकार तथा शान्ति समाजले देशव्यापी रुपमा सजगता अभियान प्रारम्भ गरेको छ ।
कोरोना भाइरस नियन्त्रण रोकथामका लागि शान्ति समाजले राज्य/सरकारसँग सहकार्य गर्ने प्रस्ताव अघि सारेको छ । कालोबजारी रोक्न प्रभावकारी अनुगमनमा जोड दिँदै आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि ठोस कदम चाल्न पनि शान्ति समाजले सरकारसँग आग्रह गरेको छ ।
अराजकता/अव्यवस्था/ कानुन बिहिनताको स्थिति उत्पन्न हुन नदिन नागरिक खबरदारीका साथै नागरिक सहकार्यमा जोड दिँदै अभाव र असुरक्षाको स्थिति उत्पन्न हुन नदिन राज्य, राजनीतिक समाज, नागरिक समाज सहकार्यका लागि शान्ति समाजले आह्वान गरेको हाे ।
कोरोना भाइरस नियन्त्रण/रोकथामका लागि पूर्व सतर्कता, अधिक सावधानी र सफाइ अभियानको विस्तारमा जोड दिँदै शान्ति समाजले जिल्ला जिल्लामा शान्ति समाजका सदस्यहरु परिचालन गर्ने भएको छ ।
कोरोना भाइरस प्रकोपका सन्दर्भमा सावधानी स्वरुप शान्ति समाजले वैशाख महिनासम्मका आधा दर्जन बढी नियमित अभियान/कार्यक्रमहरु स्थगित गरिसकेको छ भने अबको मूल अभियान नोवल कोरोना भाइरस नियन्त्रण/रोकथामका सन्दर्भमा केन्द्रित रहने छ ।
यसै अभियानका क्रममा शान्ति समाज रुपन्देही र दाङ शाखाले चैत ४ गते रुपन्देही र दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६