काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै सेनाले ५२ बेडको आइसोलेसन वार्ड तयार गरेको छ । त्यसमा सैनिक र गैरसैनिकको उपचार गरिने छ । याे समाचार नयाँ पत्रिका दैनिकले लेखेकाे छ ।
पूर्वतयारीअन्तर्गत सेनाले मंगलबार र बुधबार जंगी अड्डा परिसरमा विभिन्न युनिटमा कार्यरत सकल दर्जालाई तालिम गराएको छ । स्वास्थ्य महानिर्देशनालयका ५० सैनिक चिकित्सक तथा विभिन्न युनिटमा कार्यरत एक सय ३१ प्राविधिक सैनिकलाई प्रशिक्षण दिइएको प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए ।
‘तालिम पाएका एक सय ८१ जनाले अब आठ पृतना र मातहतका बाहिनी र युनिटमा गएर तालिम दिनेछन्, यो प्रशिक्षक प्रशिक्षण तालिमजस्तै हो,’ प्रवक्ता पाण्डेले भने, ‘हाम्रो जनशक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको यो आन्तरिक तयारीसम्बन्धी तालिम हो ।’
यसअघि चीनबाट ल्याइएका १ सय ७५ नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइन व्यवस्थापन गरेको सेनाले अहिले काठमाडौंको छाउनी अस्पताल तथा सबै पृतना एवं क्षेत्रीय सैनिक अस्पतालमा तयारी थालेको हो । सो क्वारेन्टाइन केन्द्र पनि भविष्यका लागि उपयोगमा ल्याउने गरी सरकारले तयारी अवस्थामा राखेको छ ।
सबै पृतनामा कम्तीमा दुईवटा र नेपालगन्ज, पोखरा र धनगढीस्थित क्षेत्रीय सैनिक अस्पतालमा पनि कम्तीमा दुई–दुईवटा आइसोलेसन वार्ड तयार भएका छन् । ‘फिल्ड एम्बुलेन्समा समेत गरेर हामी ५२ वटा आइसोलेसन बेड तयार गर्दै छौँ । तत्कालका लागि हामीले आन्तरिक प्रयोजनका लागि उपयोग गर्नेछौँ,’ पाण्डेले भने ।
सेनाले ब्यारेकमा रहेका खुला स्थानमा कम्तीमा ३० बेडदेखि ८४ बेडसम्मको टेन्ट राख्ने पनि तयारी गरेको छ । ०७२ को भूकम्पमा आएका टेन्ट सेनाले आठैवटा पृतना र मातहतका ब्यारेकका लागि पठाएको छ । ‘तालिमका क्रममा टेन्ट पनि तयार हुँदै जान्छन्, सरकारी निर्णयका आधारमा भविष्यमा सैनिक र गैरसैनिकका लागि यो प्रयोग गर्छौँ,’ पाण्डेले भने, ‘सरकारी निर्णय नहुन्जेलका लागि भने सैनिक जनशक्तिका लागि यो प्रयोग हुन्छ । हामीले अहिले खुला स्थान हेरेर कतिसम्म टेन्ट राख्न सकिन्छ बुझ्नू भन्ने निर्देशन पठाएका छौँ ।’
पाण्डेका अनुसार सेनाले ब्यारेकबाहिर पिटी परेड खेल्न सामूहिक रूपमा ब्यारेक बाहिर निस्कन रोक लगाइसकेको छ । नियमित ज्वरो जाँच्न र हरेक ब्यारेकमा साबुनले हात धुने व्यवस्था मिलाइएको छ । आइसोलेसन वार्ड बनाउने र सफा गर्ने उपाय पनि सेनाले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६