चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्ने क्रम बढ्दै गएको छ। विगत ९ महिनामा यहाँ २२ वटा गैँडा मरेका छन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक गत मंगलबार पश्चिमी सेक्टरको टेम्पल टाइगर क्षेत्रमा एउटा गैँडाको हाडखोर मात्र भेटिएको छ । यसअघि राष्ट्रिय वन क्षेत्र र निकुञ्ज क्षेत्रमा गरी २ वटा गैँडा मरेका थिए ।
विषाक्त खाना, बुढो भएर, जुधेर, दलदलमा फसेर, भाले लाग्दा, लडेर, खोचमा फस्ने जस्ता कारणले गैँडा मर्ने गरेका छन् । गैँडाको मृत्युदर उच्च भएपछि गत वर्ष निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ ।
केही वर्षयता चोरी शिकारीबाट गैँडा मारिएका छैनन् । तर, प्राकृतिक कारणले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ताको रुपमा हेरिएको छ।
गत वर्ष ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा २६ र २०७३/७४ मा २५ गैँडा सोही कारणले मरेका थिए ।
सामान्यतया ५ प्रतिशत गैँडाको मृत्युलाई सामान्य मानिन्छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ वटा गैँडा रहेका उनले बताए ।
यसैबीच चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको गणना गर्न लागिएको छ। यसको तयारी अन्तिम चरणमा पुगेको निकुञ्जले जनाएको छ। यही चैत १० गतेबाट चितवन राष्ट्रिय निकुञ्जबाट गणना हुँदै छ ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६