काठमाडौँ । विश्वव्यापी महामारी बनेकाे काेराेना भाइरसकाे त्रासका कारण भाेलिबाट हुने भनिएकाे एसइई परीक्षा राेकिएकाे छ ।
व्यापक दबाबपछि सरकारले एसईई परीक्षा स्थगित गर्ने गरेको हाे । नेकपा सचिवालय समितिको आग्रहपछि सरकारले बुधबार साँझ यो निर्णय गरेको हाे ।
उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका संयोजक ईश्वर पाेखरेलले एसइईलगायता सबै परीक्षा स्थगित गरिएको बताए ।
‘एसइई लगायतका सम्पूर्ण परीक्षा स्थगित गरिएको छ’, पोखरेलले भने, ‘पठपाठन लगायतका सबै शैक्षिक गतिविधिहरु पनि रोकिएको छ।’
यसैबीच, सरकारले विश्वविद्यालयका सबै परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको बताए ।
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६