काठमाडौं । चीनको हुवेई प्रान्तको वुहान सहरबाट सुरु भएर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला विश्वका करिब २ सय मुलुकलाई नराम्री प्रभावित बनाइसकेको छ ।
विश्वकै अर्थतन्त्र डामाडोल हुने गरी भएको भयावह अवस्थामा झन्डै २ लाख मान्छे संक्रमित भएका छन् भने ८ हजारको हाराहारीमा ज्यान गुमाइसकेका छन् । यो त सार्वजनिक भएको आँकडा हो । सार्वजनिक हुन नसकेका वा कोरोनाका कारण भएको थाहा नभएका आँकडा अझै भयावह हुन सक्ने विज्ञहरु बताउँछन् ।
विश्वका विकसित युरोपेली तथा अमेरिकी देशहरुले उच्च सतर्कता अपनाउँदा अपनाउँदै तथा स्रोत र साधनको भरपूर प्रयोग गर्दा पनि कोरोना रोकथाम वा भनौं नियन्त्रण गर्न सकेका छैनन् । कोरोना संक्रमण देखिएको दोस्रो दिन नै सयौंको संख्यामा संक्रमित थपिइरहेका छन् ।
यस्तो महामारीको अवस्थामा पनि नेपाल सरकारले भने कोरोना भित्रिन नदिन अपनाउनुपर्ने सामान्य सावधानी पनि अपनाएको पाइँदैन । डाक्टर सुन्दरमणि दीक्षितका अनुसार कोरोना संक्रमण रोकथाममा सरकारले चरम लापरबाही गरिरहेको छ । कोरोना संक्रमित देशहरुबाट आउने उडानहरु रोक्नुपर्नेमा हालसम्म पनि उडान नरोकिनु जनस्वास्थ्यमाथिको चरम खेलबाड भएको डा. दीक्षित बताउँछन् ।
‘आवश्यक परेको बेला हामी तुरुन्तै लकडाउन गर्न सक्छौं भनेर सरकारले भनेको छ’, आजकाे न्युजसँग कुरा गर्दै उनले भने, ‘आवश्यक परेको बेला भनेको कहिले हो ? कति जना मान्छे मरेपछि आवश्यक पर्छ ? मुलुकमा संक्रमण भित्रिसकेपछि त्यसलाई नेपालको क्षमताले रोक्नै सक्दैन ।’
नेपालसँग कोरोना परीक्षणका लागि आवश्यक टेस्ट किटहरु पनि नभएको भन्दै दीक्षितले टेस्ट किट र सुरक्षा सामग्रीहरुको अविलम्ब व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘अहिले टेकु अस्पतालमा दैनिक २० जनाको मात्रै परीक्षण हुन्छ । २१औं व्यक्ति गयो भने बिनापरीक्षण फर्किनुपर्ने अवस्था छ । कोरोना संक्रमण फैलिएर एकैपटक हजारौंको परीक्षण गर्नुपर्ने भयो भने कसरी सम्भव हुन्छ ?’
आफूलाई आवश्यक पर्ने टेस्ट किट वा सुरक्षा सामग्री लगायत सामग्रीहरु लाज नमानी माग्न सक्नुपर्ने उनले बताए । कसैको परीक्षण नै नगरी कोरोना भाइरस भित्रिएको छैन भनेर भन्नु मूर्खता भएको उनको भनाइ थियो । उनले भने, ‘दिनको २० जना मान्छेको जाँच गरेर कोरोना आएको छैन भनेर भन्न कसरी सकिन्छ ? हरेक नाकामा गएर परीक्षण गर्नुप¥यो । गाउँगाउँ गएर चेक गर्नुप¥यो अनि देखिएन भने भन्न सकिन्छ ।’
नेपालमा कोरोना भाइरसको संक्रमण छैन भनेर आफू विश्वस्त हुन नसक्ने बताउँछन् डा. दीक्षित । उनका अनुसार भाइरस संक्रमण हुनु र प्रकोपको रुप लिनु फरकफरक कुरा हुन् । ‘नेपालमा पनि कैयौं मानिसलाई कोरोना भएको हुन सक्छ । मलाई नै पनि भएको हुन सक्छ । तर यसले प्रकोपको रुप लिएको छैन । तर कोरोना नै आएको छैन भन्नु गलत हुन्छ ।’
नेपालको हकमा यहाँको भूगोल, हावापानी, नेपालीको खानपान, रहनसहन, उमेर अनुपातको जनसंख्या फरक खालको भएकाले पनि कोरोनाले प्रकोपको रुप नलिएको हुन सक्ने दीक्षितले बताए । तर यो सबै भगवानको कृपा वा प्रकृतिको देन भएको भन्दै यसमा सरकारले केही पनि नगरेको उनले बताए ।
कोरोना भाइरसलाई प्रकोपको रुपमा फैलन नदिन सरकारले तुरुन्तै हवाई उडान रोक्नुपर्ने, सबै नाका बन्द गरेर नाकामै प्रयोगशाला स्थापना गरेर परीक्षणको व्यवस्था मिलाउनुपर्ने बताए । पहिले विदेशबाट आउने नागरिकलाई प्रतिबन्ध लगाएर हरेक स्थानीय स्तरमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन सके कोरोनाले प्रकोपको रुप लिन नपाउने उनले बताए ।
अहिलेसम्म फैलिएका भाइरसको प्रकृति हेर्दा कोरोना भाइरस पनि तापक्रम वृद्धि भएसँगै मत्थर हुँदै जान सक्ने उनले बताए । तर गर्मी लागेसँगै कोरोना कम भएपछि पुन चिसो लाग्दा झन् भयंकर भएर आउन सक्ने भन्दै डा. दीक्षितले सरकारले परीक्षण र उपचारका लागि आवश्यक प्रबन्ध भने गर्नुपर्ने बताए ।
कोरोना भाइरसबाट मृत्यु हुने दर कम भए पनि संक्रमण दर एकदमै बढी भएकाले उच्च सतर्कता अपनाउनुपर्ने उनले बताए । यसअघि आएका भाइरसहरु इबोला, सार्स, मार्स, स्वाइन फ्लूलगायतको संक्रमण दर कम र मृत्युदर उच्च भएकाले संक्रमित कम थिए । तर कोरोनाको ठीक उल्टो भएकाले संक्रमण भएकामध्ये ३–४ प्रतिशत मृत्यु भए पनि संख्यात्मक रुपमा ठूलो देखिएको उनको भनाइ थियो ।
डा. दीक्षितले नेपाली जनतालाई नडराउन तर सतर्क रहन सुझाव दिएका छन् । सबैभन्दा ठूलो औषधि निडरता भएको भन्दै मनमा डर राखेमा मान्छेको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएकाले नडराई सतर्कता अपनाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने खानपान, कसरत गर्ने र सरसफाइमा ध्यान दिन सके कोरोना भाइरसको संक्रमण भए पनि त्यसलाई शरीरले नै लड्न सक्ने बताए । सरकारको भर परेर बस्ने हो भने नेपाल कोरोनाले सोत्तर बनाउने भन्दै डा. दीक्षितले नेपाली जनता आफैँ जागरुक भएर कोरोनाविरुद्धको लडाइँ लड्नुपर्ने बताए ।
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६