लहान । सिरहा प्रहरीले अवैध घरेलु मदिरा उत्पादनमा संगग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ ।
धनुषामा घरेलु मदिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सिरहा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान सुरु गरेको हो ।
अभियानमा घरेलु मदिरा उत्पादन गर्ने कार्यमा संलग्न रहेको आरोपमा जिल्लाको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय लहान सिरहामा बुझाइएको छ । घरेलु मदिरा बनाउने भट्टी भत्काउने, तयारी मदिरा नष्ट गर्ने र मदिरा उत्पादन कार्यमा संलग्नलाई पक्राउ गर्ने कार्य भइरहेको उनले बताए ।
अभियान सुरु गरेपछि २ दिनको अवधिमा प्रहरीले ३ हजार ४ सय लिटर तयारी अवैध घरेलु मदिरा, ३२ हजार ७ सय ८० लिटर कच्चा पदार्थ नष्ट गरेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए । रासस
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६