काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि भारी अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३३ अंकले घटेर १ हजार २७२.०६ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर २७४.५९ मा पुगेको छ । घटेको बजारमा कारोबार रकम भने झण्डै डेढ अर्ब बराबर भएको छ । कुल १ सय ७५ कम्पनीको ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता सेयर १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६ सय ५६ रुपैयाँमा खरिदबिक्री भयो ।
कारोबार भएका कुल १२ उपसमूहमध्ये सामूहिक लगानी कोषको मूल्य बढेको छ भने ११ उपसमूहको सेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढ्दा बैंकिङ ३३.१६, व्यापार ४९.४८, होटल ५३.६९, विकास बैंक ५३.६८, जलविद्युत् १२.८८, वित्त २१.९८, निर्जीवन बीमा ३३८.३४, उत्पादन ११५.०८, अन्य १४.७९, लघुवित्त ९३.६६ र जीवन बीमा ४२६.४८ अंकले घटेका छन् ।
नेप्सेका अनुसार कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १० करोड ७ लाख १ हजार ९ सय ६२, एनएमबी बैंकको ९ करोड २४ लाख ७३ हजार ३ सय ६९, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ४३ लाख ६१ हजार ४६, हिमालयन डिस्टिलरीको ४ करोड ६७ लाख २ हजार २ सय २७, नेपाल बैंक लिमिटेडको ४ करोड २८ लाख ५९ हजार ५ सय ४ र प्रभु बैंकको ३ करोड ८५ लाख ६६ हजार ५७३ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रह्यो ।
आज सबैभन्दा बढी जोशी हाइड्रोपावर ७.६९, घलेम्दी हाइड्रो ३.२८, विशाल बजार कम्पनी १.९९, एनएमबी हाइब्रिड फन्ड–१ १.८४ र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीका सेयरधनीले १.३२ प्रतिशतले कमाए ।
यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयरधनीले १०, नेपाल सेवा लघुवित्त ९.९८, स्वाभिमान लघुवित्त ९.९३, नेपाल इन्स्योरेन्स कम्पनी ९.८९, युनाइटेड इन्स्योरेन्स ९.८५, गुराँस लघुवित्त ९.६० र गरिमा विकास लघुवित्तका लगानीकर्ताले ८.७९ प्रतिशतले गुमाए ।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६