काठमाडौं । दार्चुला, धनुषा र कपिलवस्तुमा विद्यालय भवन निर्माणका लागि भारत सरकारले १० करोड ७० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
उक्त सहयोगसम्बन्धी विषयमा काठमाडौंस्थित भारतीय राजदूतावास र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच हस्ताक्षर भएको छ ।
दार्चुलाको मालिकार्जुन उच्च माध्यमिक विद्यालय र धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणका लागि महाकाली नगरपालिका, दाचुर्ला र मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषासँग छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत यी दुई विद्यालयहरूको निर्माण ७ करोड ३९ लाख रुपैयाँ लाग्ने छ । यी विद्यालयहरूको निर्माणका लागि आर्थिक सहयोगको जिम्मा भारत सरकारले लिएको छ भने बोलपत्र आव्हान, कार्य हस्तान्तरण, दैनिक निरीक्षणलगायत निर्माण कार्य नेपाल सरकारले कार्यान्वयन निकायका रुपमा तोकेका महाकाली नगरपालिका, दाचुर्ला एवं मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषाले गर्ने छन् ।
यस परियोजनालाई संघीय तहमा नेपाल सरकार संघीय मामिलातथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासले अनुगमन गर्ने छन् ।
कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवनको निर्माणका लागि भारत सरकारले ३ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कुल रकमको पहिलो किस्ता स्वरुप भारतीय राजदूतावासले महाराजगन्ज महानगरपालिकाका मेयरको उपस्थितिमा ८२ लाखको चेक जिल्ला समन्वय समिति कपिलवस्तुलाई हस्तान्तरण गरेको छ ।
जिल्ला समन्वय समितिले सम्पूर्ण टेन्डर प्रक्रिया सम्पन्न गरी विद्यालय भवन निर्माणको जिम्मा एम÷एस दया निर्माण सेवा रुपन्देहीलाई हस्तान्तरण गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६