संस्कारः संस्कृतिश्च अस्माकं जीवनम् संस्कार र संस्कृति नै हाम्रो जीवन हो । संस्कार र संस्कृतिको संरक्षणार्थ आयोजित विराट् ज्ञानमहायज्ञ तथा अरूण साँस्कृतिक महोत्सव २०७६ लाई स्मरण गर्दा मन प्रफुल्लित बन्दछ । नेपालको माटोको गान गर्ने अवसर जुटेको समय, नेपालका पवित्र नदी, सुन्दर हिमाल र महापुरूषहरूको पनि चर्चा भएकाले मातृभूमि पनि प्रसन्न छिन् भन्ने विश्वास गर्न सकिन्छ ।
हिन्दू, बौद्ध, किराँतको संयुक्त आयोजनामा सम्पन्न भएको यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको धर्मको मर्म बुझ्नु र बुझाउनु नै हो । दिनानुदिन आयातित धर्म र पाश्चात्य संस्कृतिको प्रभावले नेपाली मौलिकता हराउँदै जानु दुर्भाग्य हो । माटो अनुकुल फल-फूल, अन्नबाली सप्रने गर्छन् । नेपालको माटो अचम्मको छ । इतिहास हेर्दा हिन्दू, बौद्ध, किराँतको उद्गम भूमि नै नेपाल देखिन्छ । हामी यति सम्म कमजोर छौँ कि, आफ्नो धर्मको परिचय दिन सम्म पनि सक्दैनौँ ।
हामीलाई धर्मको परिभाषा नै थाहा छैन । कसैले हामीलाई सोध्छ, तिम्रो धर्म के हो ? हामी भन्छौँ हिन्दू, बौद्ध वा किराँत । फेरि अर्को प्रश्न आउँछ, हिन्दू भनेको के हो ? कस्ता मानिस बौद्धमार्गी हुन् ? कस्तो धर्मलाई किराँत धर्म भन्ने । अहँ, हामीलाई सामान्य परिभाषा पनि आउँदैन । तर हामी यो धर्म ठीक, यो धर्म बेठीक भनेर चौबाटा, चौतारा र समारोहमा पनि धर्म सानो-ठूलो, राम्रो-नराम्रो भन्दै कुर्लिन भने छाड्दैनौँ । सर्वप्रथम हामीले घर सुधार्नु पर्दछ । घर सुधार्नु भनेको नेपालको माटो मै जन्मिएका परम्परा, संस्कार के कस्ता छन् ? कति छन् ? भन्ने कुराको ज्ञान राखी आफू विज्ञ बन्नु हो ।
हामी सबैलाई थाहा छ । मातृदेवो भवः । पितृदेवो भवः । आचार्य देवो भवः । अर्थात् माता, पिता, गुरू भगवान् हुन् । पूजा गर्नु पर्दछ । आफ्नो मौलिक धर्म संस्कार नबुझीकन अन्य धर्मको अनुसरण लगाव राख्नु भनेको आफ्ना माता-पितालाई अपहेलना गरी अरूका माता पितालाई सम्मान गर्नु जस्तै हो । त्यसैले कर्तव्य ठानी आफ्नो परम्पराको संरक्षण गर्नु नै पहिलो उद्देश्य हुनुपर्दछ ।
यस्तै विषयहरूमा चर्चा भइरहँदा नेपालको माटोको धर्म संरक्षणका निमित्त भोजपुरको अरूण गाउँपालिकामा बृहत् ज्ञानमञ्च सञ्चालन भयो । धर्म गुरूहरूले संस्कार र संस्कृतिका बारेमा दार्शनिक प्रवचन दिँदै, धर्म भित्र रहेका विकृतिहरूलाई हटाउने सरल उपायहरू बताइदिनुभयो । वसुधैव कुटुम्बकम् को भावलाई प्रष्ट पारिदिनुभयो । सनातन हिन्दू धर्मका बारेमा नेपाल सन्त समाजका तर्फबाट श्री १००८ डा. स्वामी रामानन्द गिरीजीका शिष्य श्री ईश्वरानन्द ब्रह्मचारीजी महाराजले जीवनयोपयोगी सत्शिक्षा प्रदान गर्नुभयो । बौद्ध धर्मका तर्फबाट नेपाल बौद्ध महासंघका केन्द्रीय उपाध्यक्ष खेन्पो श्री कमल भण्डारीज्यूले दिव्य प्रवचन दिनुभयो । किराँत धर्मका धर्मगुरू मुन्धुमविद् नागाछोङ् श्री नीलकुमार रार्इले मुन्धुममा आधारित प्रवचन दिनुभयो र ज्ञानयज्ञ सम्पन्न भयो ।
गेट बाहिर हल्ला सुनिन्थ्यो- हामी व्यर्थमा झगडा गर्दा रहेछौँ, वास्तवमा हामी मानव जातिको धर्म एउटै रहेछ । धर्म भनेको त सहन गर्नु रहेछ, अरूको उपकार गर्नु, हिंसाबाट टाढा रहनु, मातापितालाई भगवानको स्थान दिनु रहेछ । हिंसा भनेको काटमार मात्र नभएर अरूको मन दुखाउनु पनि हिंसा रहेछ । मानिस जातका आधारमा नभएर कर्म र ज्ञानका आधारमा श्रेष्ठ भइने रहेछ । आज हाम्रो आँखा खुल्यो, यस्तै यस्तै ...
कार्यक्रमको उद्देश्य द्रव्योपार्जन नभएर अज्ञानरूपी अन्धकार हटार्इ ज्ञानको ज्योति बाल्नु नै थियो । यस अर्थमा कार्यक्रमलाई सफल मान्नुपर्छ र चिरस्थायी गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्छ । रार्इहरू सानो जातका हुन्, भन्ने ब्राह्मणहरूले आफ्नै आँखा अगाडि किराँत गुरूले प्वाखद्वारा अदुवा काट्ने जस्ता अनौठा दैवी शक्तिहरू प्रदर्शन गरिरहँदा भन्न लागे शरीर जुनसुकै जातको भएपनि ज्ञान र साधनाबाट प्राप्त भएको शक्तिलाई सबैले मान्नुपर्दछ ।
आज आएर जन्मले होइन कर्मले ब्राह्मण होइने रहेछ । यस्ता कुराहरू पनि त्यहाँ सुनियो । विश्वमा शान्ति राष्ट्रमा सुव्यवस्था कायम होस्, दिवङ्गत आत्माहरूको कल्याण होस् भन्दै लामाहरूले त्रिपटक पाठ र पण्डितहरूले भागवतको पाठ, हवन गरिरहँदा धार्मिक सहिष्णुता प्रष्ट देखिन्थ्यो । युवा पुस्ता परम्पराको विरोध गर्नमा व्यस्त छ, परम्पराको विरोध गर्दा आधुनिक बनिन्छ भन्ने सोच विकसित भइरहेको बेला यस कार्यले परम्पराको विरोध नभएर परम्परामा आएका विकृतिहरूलाई हताउँदै संस्कृतिको सम्बर्द्धन गर्नु नै कर्तव्य रहेछ भन्ने ज्ञान मिलेको छ ।
कार्यक्रममा धर्म सँग जोडिएका संस्कृतिहरूको संरक्षण गर्ने उद्देश्यले विभिन्न जातिका झाँकीहरू जस्तै लाखे नाच, बालन नाच, साकेला नाच, सोरठी नाच, हुर्रा नाच, सङ्गिनी, भजन कीर्तन नियमित प्रदर्शन भएकाले सबैलाई मनोरञ्जन पनि मिल्यो । युवा पुस्तालाई संस्कृति हस्तान्तरण गर्न सकिएन भने अर्को पुस्ताको अवस्था के हुन्छ ? हाम्रो परम्परा रहिरहन्छ त ? यस्ता प्रश्नले सायदै सबैलाई निदाउन दिँदैन । संस्कार सिक्ने थलोको रूपमा भोजपुरको त्यस क्षेत्रलाई विकसित गर्ने सम्माननीय छ । सबैको श्रद्धा जुटेमा शिवसंकल्प पूर्ण हुनेछ । जय मातृभूमि ।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६