काठमाडौं । गत वर्षको डिसेम्बरबाट पहिचानमा आएको कोरोना भाइरस कोभिड–१९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ । चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोनाको संक्रमण डेढ सयभन्दा बढी देशमा फैलिइसकेको छ । १ लाख ६० हजार मानिस संक्रमित हुँदा करिब ६ हजार जनाले मृत्युवरण गरिसकेका छन् ।
विश्वका कैयौं देशले संकटकालको घोषणा गरिसकेका छन् भने अन्य देशसँगको कनेक्सन कट गरेका छन् । अधिकांश मुलुकका सहरहरु लकडाउन गरिसकिएको छ । स्कुल, कलेज, फिल्म हल, पार्टी प्यालेस, रेस्टुरेन्ट सबै बन्द गरिएको छ ।
धेरै विकसित र स्रोत र साधन भएका युरेपेली र अमेरिकी देशहरुमा कोरोनाले आच्छुआच्छु पारेको अवस्था छ । सहर लकडाउन गर्दासम्म कोरोनाको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । दक्षिणी छिमेकी देश भारतमा समेत स्कुल कलेज लगायत भीडभाड हुने स्थान बन्द गरिसकिएको छ ।
तर नेपालमा भने कोरोना भित्रिएकै छैन भनेर सरकार जोखना हेरेर बसेको छ । स्कुल कलेज चालु छन्, फिल्म हल बन्द गरिएको छैन । अन्तर्राष्ट्रिय हवाई यात्रा रोकिएको छैन । सीमा नाका बन्द गरिएको छैन । विदेशबाट फर्किएका मानिसलाई ट्राफिक पुलिसले मापसे चेक गरेजस्तो गरेर छोडिएको छ । ज्वरो आएको भेटे अस्पताल पठाउने गरे पनि कोरोनाको लक्षण देखिन १४ दिन लाग्ने तथ्यलाई छोप्दै झारा टार्ने काम गरिएको छ ।
कोरोनाको शंका लागे आफैं क्वारेन्टाइनमा बस भनेको त छ । तर कोही मान्छे क्वारेन्टाइनमा नबसे के हुने ? विदेशबाट आएकाले सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ । विदेशबाट आएको मान्छे क्वारेन्टाइनमा बसेको वा नबसेको कसले अनुगमन गर्ने ? यदि उ क्वारेन्टाइनमा नबसेर उसकै माध्यमबाट कोरोना फैलिएको अवस्थामा जिम्मेवार को हुने ?
युरोपेली मुलुकमा मन् त्री, सांसदहरूलाई समेत कोरोनाको संक्रमण भएको समाचार निरन्तर आइरहेका छन् । यसको मतलब यदि कोरोना संक्रमण भित्रिइहाल्यो भने त्यो यति छिटो फैलिन्छ कि नेपालमा संक्रमण सुरु भएको १ सातामा स्थिति भयावह हुने देखिन्छ । उच्च सतर्कता अपनाएर क्वारेन्टाइन गरिएका मुलुकमा त त्यस्तो रफ्तारमा संक्रमण फैलिरहेको छ भने नेपालमा त तयारी वा सतर्कता भन्ने नै केही देखिएको छैन ।
सरकारले भीडभाड हुने सभा समारोह भोजभतेर आयोजना नगर्नु भनेको छ । तर हरेक दिन केही न केही कार्यक्रम भइरहेकै छन् । बिहेलगायतका कार्यक्रम रोकिएका छैनन् । होली नखेल्न भनेर प्रशासनले उर्दी नै जारी ग¥यो । तर प्रहरी प्रशासन भने मूकदर्शक भएर होली खेल्न दिइरह्यो । होली नखेल भीडभाडमा नजाउ भन्नुको साटो पुलिस बाटोमा मापसे चेक गर्दै बस्यो ।
सरकारका स्वास्थ्यमन्त्री कोरोना भित्रिनसकेकाले अहिले नै केही रोक्नुनपर्ने गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन् । तर यदि कोरोना भित्रिइहाल्यो भने के हुन्छ भन्ने आँकलन मन्त्री स्वयंले गरेका छैनन् ।
कोरोना संक्रमण भित्रिए नेपालको अवस्था कति भयंकर होला भन्ने यो एउटा केस स्टडीबाट पनि थाहा हुन्छ । अहिले कोरोनाको अतिमारमा रहेको मुलुक इटालीको अवस्था हेर्ने हो भने आङ नै जिरिंग हुन्छ । सावधानी र सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमण सुरु भइसकेको छ भने रोक्न सकिँदैन भन्ने गलितो उदाहरण यो ।
इटालीमा गत ३० जनवरीमा पहिलोपटक २ जनामा देखिएको कोरोना भाइरसको संक्रमण फैलिएर १५ मार्चमा आइपुग्दा २१ हजार १ सय ५७ जना संक्रमित भइसकेका छन् ।
सुरुमा २ जनामा देखिएको संक्रमण त्यसको २२ दिनपछि ४ जनामा फैलिएको पाइएको छ । त्यसपछि संक्रमण फैलने क्रमले तीव्रता पाउँदै २५ दिनमै २१ हजार जनाभन्दा बढी संक्रमित भए ।
२१ फेब्रुअरीमा ४ जनामा देखिएको कोरोना एकै दिनमा २२ फेब्रुअरीमा २० जनामा देखियो भने २३ फेब्रुअरीमा ७९, २४ मा १५० जनामा फैलियो । त्यसको भोलिपल्ट २ गुणाभन्दा बढी व्यक्ति संक्रमित हुँदै कुल संक्रमितको संख्या ३ सय २२ पुग्यो ।
२६ फेब्रुअरीमा ४ सय, २७ मा ६ सय ५५, २८ मा ८ सय ८८ जना संक्रमित भए । मार्च १ मा संक्रमितको संख्यामा झन्डै दोब्बर वृद्धि हुँदै १५ सय ७७ जना पुग्यो भने मार्च २ मा १८ सय ३५, मार्च ३ मा २२ सय ६३, मार्च ५ मा ३८ सय ५८ र ६ मार्चमा आइपुग्दा संक्रमितको संख्या ४६ सय ३६ पुगेको देखिन्छ ।
मार्च ८ का दिनसम्म यस भाइरसको संक्रमणका कारण इटालीमा ३ सय ६६ जनाले ज्यान गुमाइसकेका थिए भने संक्रमितको संख्या ७ हजार ३ सय ७५ पुगेको थियो । संक्रमणले उग्र रुप लिन थालेपछि ८ मार्चमा उत्तरी इटालीका १ करोड ६० लाख मानिसलाई होम क्वारेन्टाइनमा बस्न आदेश दिइयो ।
त्यसको भोलिपल्ट ९ मार्चमा इटालीले अन्य देशका मानिसलाई प्रवेशमा रोक लगायो भने त्यो दिनसम्म ९ हजार १ सय ७२ जनामा संक्रमण फैलिएको र मृतकको संख्या ४ सय ६३ पुगेको देखिन्छ ।
यसपछि १० मार्चसम्ममा १० हजार १ सय ४९ संक्रमित, ६ सय ३१ को मृत्यु, ११ मार्चमा १२ हजार ४ सय ६२ संक्रमित, ८ सय २७ जनाको मृत्यु भएको देखिन्छ भने १३ मार्चसम्ममा १५ हजारभन्दा बढी संक्रमित हुँदा १४ सयभन्दा बढीले ज्यान गुमाए । यो संख्या १५ मार्चमा आइपुग्दा २१ हजारभन्दा बढी संक्रमित र १४ सय ४१ भन्दा बढकिो ज्यान गइसकेको छ ।
अतः नेपालमा पनि कोरोना भित्रिन नदिने हो भने तुरुन्तै सीमा नाका बन्द गर्नुपर्छ र अन्तर्राष्ट्रिय हवाई उडान रोक्नुपर्छ । त्यसपछि स्कुलकलेज, फिल्म हल, पार्टी प्यालेस लगायत भीडभाड हुने ठाउँ बन्द गरेर उच्च सतर्कता अपनाउनु जरुरी छ । नत्र पशुपतिनाथकै भर परेर बसे यसै भन्न सकिने अवस्था छैन ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६