शंखर पहाडी
सर्लाही । सुख्खा मौसम सुरु भएसँगै यसवर्ष पनि सर्लाही चुरे क्षेत्रका गाउँबस्तीमा पिउने पानीको अभाव सुरु भएको छ । चुरे भेगका धारा, कुवा तथा खोल्सी सुक्न थालेपछि पिउने पानीको अभाव देखिएको स्थानीयवासीले गुनासो गरेका छन् ।
चुरे दोहनले कालिञ्जोर, परवानीपुर, नारायणखोला, पत्थरकोट, अत्रौली र ढुङ्ग्रेखोलालगायतका बस्तीमा माघ, फागुन महिनादेखिनै पिउने पानीको अभाव हुन थाल्छ ।
चुरेफेदीका गाउँमा चापाकल सुक्न थालेका छन् । बढ्दो वन विनास, नदी तथा वनजंगल दोहनले खानेपानीका मुहान चाँडो सुक्न थालेको लालबन्दी नगरपालिका–१३ पत्थरकोटका वडाध्यक्ष शिवकृष्ण बैद्य बताउँछन् ।
गाउँका ४५-५० घरधुरीका मानिस पिउने पानीक जोहो गर्न छिमेकी गाउँसम्म पुग्न बाध्य हुनुपरेको छ । ती घरधुरीको १ मात्र कुवा रहेको र सो कुवामा आवश्यक पानी नभएको तथा वैकल्पिक स्रोतको व्यवस्था नभएकाले पिउने पानीको समस्या थप जटिल बनेको छ ।
सानो कुवा छ । रातभर संकलन गरेको पानीले गाउँका ५/६ घरधुरीलाई मात्र पुग्छ । पछि पुग्नेले छिमेकीगाउँका कुवा, धारा तथा खोलाको पानी प्रयोग गर्न करिब डेढ घण्टाको बाटो हिँडेर पानी ल्याउनुपर्ने बाध्यता छ , लालबन्दी नगरपालिका– १४ नारायण खोलाका स्थानीयवासी रेशम तामाङ भन्छन् ।
पशु चौपाया र मानिसले एउटै कुवाको पानी खानुपर्ने बाध्यता छ । त्यसले गर्दा गाउँमा हरेक वर्ष झाडापखालालगायतका पानीजन्य रोग लाग्छन् ।
आफूहरुलाई सुख्खायाम सुरु भएपछि पिउने पानीको जोहो गर्न चिन्ता लाग्ने गरेको ईश्वरपुर नगरपालिका १६ परवानीपुरका राजेन्द्रप्रसाद ढुङ्गेलले बताए ।
मुहान नै सुक्न थालेपछि चुरेको तल्लो गाउँका धाराका साथै चापाकल सुक्न थालेको हरिवन नगरपालिका–४ का प्रेमनाथ पौडेलले बताए । धारामा पानी भर्न लाम बस्दा स्थानीयवासीबीचमा झगडा हुने गरेको पौडेलको भनाइ थियो ।
चुरे क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्न फेदीका स्थानीय निकायले पहल गरिरहेका छन् । लिफ्टिङ प्रणालीबाट भए पनि चाडैँ सो क्षेत्रमा पिउने पानी व्यवस्थापन गर्ने गरी काम भइरहेको हरिवन नगरपालिकाका नगरप्रमुख गणेशप्रसाद प्रसाइले बताए ।
समस्या समाधान गर्न प्राविधिक अध्ययन सुरु गरिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज देवकोटाले बताए ।
नगरपालिकाको विकट क्षेत्रमा प्राविधिकसहितको टोली गएर अध्ययन गरिसकेको र नजिकैको खोलाबाट पानी लिफ्टिङ प्रणालीबाट भए पनि सो क्षेत्रमा पुर्याउने प्रयास भइरहेको नगरप्रमुख देवकोटाको भनाइ थियो ।
इटाभट्टाको सङ्ख्यामा वृद्धि, वन विनास तथा नदी दोहनले पछिल्लो समयमा पानीका मुहान चाँडो सुक्न थालेको अनुमान गरिएको छ । रासस
प्रकाशित मिति: आइतबार, चैत २, २०७६