काठमाडौँ । संसारका कुनै पनि विकास या आविस्कार, निर्माण या विनिर्माण ती सबै मानव सोचका परिणाम हुन् । आज नांगो आँखाले देखिने विश्वका कैयौं चामत्कारिक परिणाम पनि मानव सिर्जनाकै उपज हुन् । कल्पना, योजना र कार्यान्वयनले नै आजको भौतिक दुनियाँ सम्भव भएको हो । अझ साथमा सकारात्मक सोच हुने हो भने त असम्भवलाई पनि सहजै सम्भव बनाउन सकिन्छ ।
हो, त्यस्तै सकारात्मक सोचसहितको योजना र सो योजनालाई तत्काल कार्यान्वयन गरिहाल्ने इच्छाशक्ति भएका व्यक्ति हुन् डा. भाइकाजी तिवारी । चुनौतीका चाङहरूका बीच पनि डा भाइकाजीका सोच र योजनाहरूले उपत्याकाभित्र कैयौं असम्भव लाग्ने कामहरूलाई सम्भव तुल्याइदिएका छन् ।
परिणामविहीन काम गर्दै चर्चामा आइरहने बहुसंख्यक सरकारी अधिकारीहरूका बीच पनि कैयौं यस्ता कर्मवीरहरू हामीसँग छन्, जो निरन्तर आफ्ना सोचलाई परिणाममा बदल्न इमानका साथ सत्कर्म गरिरहेका छन् । तब न जताततै अँध्यारोका बीच पनि कहीँ क्षितिजमा चाँदीका घेरा देखिइरहेका हुन्छन् र त्यही उज्यालोका घेराले हामीलाई पूर्ण उज्यालोको प्रतीक्षासहित मातृभूमिमै सत्कर्म गरिरहन उत्प्रेरणा मिल्ने गर्छ ।
राज्यले दिएको जिम्मेवारी चुपचाप फत्ते गर्दै यहाँ केही सकारात्मक पनि भइरहेको छ भन्ने सन्देश दिइरहेका छन् डा. तिवारीले । अनेकौं बाधा अडचनका बीच उपत्यकाभित्र कैयौं असम्भव लाग्ने योजनाहरूको सफल कार्यान्वयन गरेका तिवारीको काँधमा यतिबेला राज्यले काठमाडौँ उपत्यका विकास प्राधिकरणको नेतृत्व सुम्पिएको छ ।
हुन त काठमाडौँ व्यवस्थित र सभ्य सहरमा परिणत भइसक्यो भन्न खोजिएको पक्कै होइन । गर्न बाँकी धेरै छ । झन्पछि झन् सहरको रूप बिग्रिरहेको पनि हामीले नियमित देखिरहेकै छौँ । यहाँ हुनुपर्ने भएकै छैन, तर नहुनुपर्ने चाहिँ जताततै भइरहेको देखिन्छ । उपत्यकाको बढ्दो र अव्यवस्थित सहरीकरणले यो सहर कंक्रिटको जंगलमा परिणत भइरहेको छ भने उपत्याकाबासी दिनानुदिन निसास्सिरहेका छन् ।
हामी कल्पना गरौँ कि केही वर्ष अगाडिको काठमाडौँको सडकको अवस्था । यदि तत्कालीन सरकारले सडक विस्तारको योजना नल्याएको भए अझ भनौँ त्यो योजना सम्पन्न नगरेको भए आजको काठमाडौँको अवस्था के हुने थियो ?
बढ्दो सहरीकरणले च्यापिँदै गएको तत्कालीन उपत्यकाभित्रको सडक विस्तार गर्छु भनी योजना बनाउनु कम जोखिमपूर्ण थिएन । अझ त्योभन्दा पनि चुनौतीपूर्ण थियो त्यो योजना कार्यान्वयन गर्न तम्सिनु । आज पनि उपत्याकाबासी डा. बाबुराम भट्टराईलाई पलपल सम्भिीरहन्छन् । कैयौं अलोकप्रिय कदमहरूका बीच उपत्याकाको सडक विस्तार गर्ने कार्यको राजनीतिक नेतृत्व लिएकामा सम्झिएका हुन् उनलाई जनताले ।
साँच्चै मुलुकको कार्यकारी प्रमुखको हैसियतमा उनले नचाहेको भए, सहयोग नगरेको भए ल्याइएको योजना कार्यान्वयनमा स्वीकृत प्रदान नगरेको भए सडक विस्तारको योजना सफल पक्कै पनि हुने थिएन । तर बाबुराम भट्टराईलाई सधैँ सम्झिने महत्वकांक्षी योजना सफल बनाउनका लागि कैयौं हातहरू प्रत्यक्ष त कैयौं हातहरू अप्रत्यक्ष रूपमा चुपचाप आफ्नो कर्म गरिरहेका थिए । त्यसैले त तत्कालीन अवस्थामा महत्वाकांक्षी देखिएको सो योजना सोचिएको भन्दा केही ढिलो गरी भए पनि सम्पन्न भएको थियो ।
हो, त्यही सडक विस्तार योजनाको मुख्य सारथी मात्रै होइन, सोच विकास गर्ने, योजना बनाउने र कार्यान्वयन गर्ने कार्यको कार्यस्थलमा नेतृत्वदायी भूमिका खेलेका व्यक्ति हुन् डा. तिवारी ।
मौलिकता र आधुनिकताले सज्जिसजाउ रहेको अनामनगरस्थित काठमाडौँ उपत्यका विकास प्राधिकरणको आफ्नै कार्यकक्षमा काठमाडौँ उपत्यकाको जनजीवन सहज बनाउन गरिएका कैयौं साहसिक निर्णय आजको न्युजलाई सुनाए डा. तिवारीले । मुलुकमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनले एउटा चामत्कारिक परिणाम सार्वजनिक गरेको थियो । दशक लामो युद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीले नसोचेको सफलता त्यो निर्वाचनमा हासिल गरेको थियो ।
नयाँ नेपाल बनाउने उद्घोषका साथ युद्धमा रहेको माओवादी लामो रस्साकस्सीबीच शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको थियो । शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको माओवादीले भाग लिएको पहिलै निर्वाचनमा दुनियाँलाई आश्चर्य हुने गरी सफल भएको थियो । लामो द्वन्द्वबाट आजित भएका नेपाली जनताले माओवादीलाई मत दिएर शान्तिप्रतिको आफ्नो उत्कट चाहना अभिव्यक्त गरेका थिए ।
भलै आफ्नै बलबुतामा बहुमत हासिल गर्न नसके पनि २०६४ सालमा सम्पन्न भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टीका रूपमा उदय भयो । तत्कालीन एमालेको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्यो । त्यो सरकारको मुख्य सारथीका रूपमा थिए तत्कालीन माओवादीका प्रभावशाली नेता डा. बाबुराम भट्टराई । समाजमा विद्वान नेताको छवि बनाएका बाबुराम भट्टराई अर्थमन्त्रीका रूपमा सो सरकारको मुख्य योजनाकार बन्दै थिए । त्यसो त माओवादीले गरेको युद्धको सैद्धान्तिक नेता तथा योजनाकार पनि उनै भट्टराई रहेको सबैलाई जानकारी भएकै विषय हो ।
एकातिर समर्थकको भरोसालाई कसरी कायम गर्ने चुनौती थियो भने अर्कातिर नयाँ नेपाल बनाउने भनी नेपाली जनतालाई बाँडेको सपना कसरी पूरा गर्ने भन्ने चुनौती । यसै दबाबका बीच एकदिन भट्टराईले तिवारीलाई अर्थ मन्त्रालयमा बोलाए । भट्टराईले भने, ‘नयाँ नेपाल बनाउने भनेर आइयो । खै के गर्ने कसो गर्ने केही मेसो पाउनै सकिएन । तत्काल परिवर्तन देखिने गरी के गर्न सकिन्छ ? केही तयार गरेर ल्याउनुहोस् न ।’
उपत्यकाभित्रका नदी करिडोर खोल्न रातोदिन तम्सिरहेका तिवारीका लागि जनताको राप र तापसहित सरकारमा आएको माओवादी सरकारका अर्थमन्त्रीको यो आग्रह चुनौती र अवसर दुवै थियो । अर्थमन्त्रीको आग्रह सुनेलगत्तै उनी काममा लागिहाले ।
सबैभन्दा पहिले सडकसँग सम्बन्धित कार्यालयका प्रमुखहरू, उपत्यका हेर्ने चारै सुरक्षा निकायका प्रमुखसहितको बैठक अयोजना गरे उनले । बैठकमा सहभागीहरूले परम्परागत विकासको मोडल प्रस्तुत गरे । सबैको जोड थियो– सबैभन्दा पहिले कति र कसरी विस्तार गर्ने ? त्यसको डिजाइन गर्ने । अनि त्यो कर्यान्वयन गर्न बजेट विनियोजन गर्ने, अनि काम थाल्ने ।
सबैका कुरा सुनेका भाइकाजीले भने सबैलाई असजिलो लाग्ने प्रस्ताव गरे । उनले भने, ‘हामी त्यस्तो सुल्टो बाटो गयौँ भने काम गर्न सक्दैनौं । काठमाडौँको सडक साँच्चिकै विस्तार गर्ने हो भने हामी उल्टो बाटो जानुपर्छ ।’
सबैले सोधे– त्यस्तो उल्टो बाटो भनेको के हो ? उनको जवाफ थियो– हामीले पहिले भत्काउने अनि सरकारले बजेट दिन्छ, त्यसपछि बन्छ ।
समस्या के भने भत्काउन पनि बजेट चाहिने थियो । त्यो कसरी निकाल्ने भन्ने अर्को समस्या खडा भयो । जहाँ समस्या त्यहाँ समाधान खोज्ने तिवारीले भने, ‘म तत्काल आफ्नो कार्यालयबाट २५ लाख रूपैयाँ निकाल्छु । यसैबाट काम सुरु गरौँ ।’
उनको प्रस्तावमा तत्कालीन ट्राफिक प्रहरीका प्रमुख गणेश राई (जो पछि सडक विस्तारको अभियानमा आफैँ निरन्तर सडकमा खटिएका थिए) ले आफूले यस कार्यमा साथ दिने बताए । त्यसपछि त बैठकमा सहभागी सबैले सहमति जनाए । तर सबैले सडक विस्तारको नेतृत्वका लागि उनै तिवारीलाई आग्रह गरे ।
आर्किटेकका पिएचडी भाइकाजीका लागि यो एकातिर चुनौतीको पहाड थियो भने अर्कातिर मुलुकको हितमा काम गर्ने एक सुनौलो अवसर । बैठकको निर्णय लिएर तिवारी अर्थमन्त्री भट्टराईकहाँ पुगे । भट्टराईले आफ्नो पूर्ण साथ रहेको भन्दै अगाडि बढ्न आग्रह गरिहाले ।
सबैकुरा योजना गरेबमोजिम कहाँ अगाडि बढ्छ र ? फेरि नेपाल जस्तो समाजमा सकारात्मक विषय लिएर अगाडि बढ्नु फलामको च्युरा चपाए जस्तै छ । यो एक आर्किटेकको हैसियतले भन्दा पनि निर्णयकर्ताको रूपमा अगाडि बढाउन खोजिएको सोच थियो । कहाँबाट भत्काउन सुरु गर्ने र कसरी गर्ने अर्को चुनौतीको पहाड छिचोल्नुपर्ने थियो ।
उनले आइडिया निकाले– महाराजगन्जस्थित सेनाको भैरवनाथ गणदेखि डिल्लीबजार चारखाल अड्डासम्म भत्काउने । यसको कारण थियो– यो बाटो भएर हरेक दिन मुलुकका हरनिर्णय गर्ने राज्यका ३ महत्वपूर्ण निकायका प्रमुख मात्रै होइन, राज्यको प्रमुखको रूपमा रहने राष्ट्रपति पनि यही बाटो भएर ओहोरदोहोर गर्ने गर्छन् ।
प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशसमेत हरेक दिन बिहानबेलुका ओहोरदोहोर गर्ने यही बाटो भत्काउन सुरु गरियो । उद्देश्य थियो– राज्यका निर्णयकर्ताकै बाटोमा भत्काउन सुरु गरे त्यसले प्राथमिकता पाउँछ र यो कार्य जतिसक्दो छिटो सम्पन्न हुन्छ ।
सोचलाई कार्यान्वयनमा परिणत गर्ने इच्छाशक्ति भएका तिवारीलाई त्यतिबेला गम्भीर धक्का लाग्यो, जतिबेला राष्ट्रकै लागि भनेर गरिएको कामको विरोधमा राज्यकै महत्वपूर्ण भनिएकाहरू खनिए । त्यस क्षेत्रबाट निर्वाचित सांसद नरहरि आचार्य मुठ्ठीभर मतदाताको हित गर्ने भन्दै विरोधमा उत्रिए । अनि स्थानीय पनि त्यसकै आडमा सडक विस्तार अभियान रोक्न आन्दोलनमा उत्रिए ।
नेपाल हो, कहाँ सोचेको कुरा सजिलै कार्यान्वयन हुन्छ र ? निकै महत्वपूर्ण कार्यको नेतृत्व गरिरहेका तिवारीको पहिलो कदममै ठेस लाग्यो । हुन त उनले त्यस्तो परिणामको पूर्वाभास नगरेका कहाँ हुन् र ? तर उनलाई कतै झिनो आशा थियो– बाटो सबैलाई चाहिन्छ । त्यो विस्तार गर्ने अभियानमा कम्तीमा भोटको राजनीतिले विकास भाँडिदैन । तर उनको सोच गलत सावित भयो र अवरोधका शृंखला एकपछि अर्को गरी आउन थाले ।
तर पनि सरकारको साथ थियो । अर्थमन्त्री बाबुराम भट्टराईले प्रत्यक्ष निगरानी गरिरहेकै थिए । निरन्तर मुद्दा पर्न थाले । पुनरावेदन अदालतले जनतालाई मुआब्जा नदिई काम अघि नबढाउनू भनिदियो । अर्को बिडम्बना त्यस्तै मेसोमा तत्कालीन सरकारको बर्हिगमन भयो । र काठमाडौँको सडक विस्तार गर्ने तत्कालीन स्वप्न योजना लगभग बेवारिसे हुने छाँट देखियो ।
आदेश पाएकै दिनदेखि सुरक्षा निकायको साथ लिएर भाइकाजी काठमाडौँ भत्काउन लागिहाले । सुरु गरेको ३ हप्ता नपुग्दै अधिकांश काठमाडौँ तोडफोड गरिसकिएको उनी सुनाउँछन् । जब पूरै काठमाडौँ तोडफोड गरियो, जताततै बाटा अवरुद्ध भए, धुवाँधुलोको मुस्लोले काठमाडौँ कुहिरिमण्डल भयो ।
एक न एक दिन जनतालाई विश्वासमा लिन सकिन्छ भन्ने झिनो आशाका साथ तिवारी निरन्तर लागिरहे । जसले जग्गा दियो, त्यहाँत्यहाँ विस्तारको काम अघि बढ्थ्यो । यति थियो– विस्तारको कामले सोचेअनुसारको गति लिन सकेको थिएन ।
त्यसबीचमा सरकार परिवर्तन भए । मन्त्री फेरिए । तर कसैले पनि तिवारीको त्यो हुटहुटीलाई बुझ्न सकेनन् । सोच सकारात्मक थियो । कार्यान्वयन गर्ने इच्छाशक्ति थियो । कमी थियो त केवल राजनीतिक नेतृत्वको साथ र सहयोग । त्यसपछिका सरकारहरू राजनीतिक एजेन्डामै रुम्मल्लिए । आफ्नै अगाडि भत्किरहेको काठमाडौँलाई व्यवस्थित गर्नेबारे कसैले गम्भीरता देखाएनन् ।
समयक्रममा सरकार फेरिइरहे । यसै मेसोमा ३ वर्षपछि फेरि सरकार फेरियो । भाग्यबस त्यो सरकारको नेतृत्व गर्न उनै डा भट्टराई आइपुगे । अब भने तिवारीको आशा फेरि अंकुरायो । बाबुराम भट्टराई मुस्ताङ म्याक्स चढे । सायद बाबुराम भट्टराई पनि राजनीतिको गन्जागोलबाट बाटो विस्तारको पुरानो योजनामा ध्यान मोड्ने थिएनन् कि ।
तर उनले चढेको मुस्ताङ म्याक्सले उनलाई बाटो विस्तारको पुरानो अलपत्र योजनामा ध्यान नमोडी सुखै भएन । किनभने उनको मुस्ताङ म्याक्सले बालुवाटारदेखि सिंहदरबारको दूरी तय गर्नै १ घण्टा लगाइदिन थाल्यो । फेरि प्रधानमन्त्री भट्टराईले उनै भाइकाजीलाई सम्झिए । फोन गरेर भने, ‘तपाईंहरू कता हराउनुभो ? बाटो विस्तारको काम के भो ?’
आफ्नो सोच सचमा परिणत हुने यही हो मौका भन्ने उद्देश्यसहित प्रधानमन्त्री भेट्न गएका भाइकाजीले सडक विस्तारको योजना पुनः अघि बढाउने सहमति लिएर आए । फेरि बैठक गरे । उनकै अध्यक्षतामा अलपत्र रहेको त्यही पुरानो सडक विस्तारको योजना फेरि सुरु हुने भयो ।
कार्यस्थलमा उनको नेतृत्व भए पनि बाहिर विरोध आउँदा सरकारको आदेश भनेर ‘माथि’ देखाउने ट्रेन्ड बनाइएको थियो । जसले गर्दा पनि भाइकाजीलाई काम गर्न सहज थियो । यसपटक उनलाई लाग्यो– अब तत्काल अघि बढिएन भने फेरि यस्तो अवसर कहिल्यै आउने छैन ।
त्यसैले आदेश पाएकै दिनदेखि सुरक्षा निकायको साथ लिएर भाइकाजी काठमाडौँ भत्काउन लागिहाले । सुरु गरेको ३ हप्ता नपुग्दै अधिकांश काठमाडौँ तोडफोड गरिसकिएको उनी सुनाउँछन् । जब पूरै काठमाडौँ तोडफोड गरियो, जताततै बाटा अवरुद्ध भए, धुवाँधुलोको मुस्लोले काठमाडौँ कुहिरिमण्डल भयो ।
यति धेरै भत्काएको छ, बन्ने कहिले हो, कुनै एकिन छैन । काठमाडौंबासी आजित भए । तर भाइकाजी भने डोजरको साथमा निरन्तर भत्काइरहेका थिए । यहीबीचमा सिंहदरबारमा काठमाडौँको तोडफोडलाई लिएर कोलाहल मच्चियो । तोडफोड रोक्ने उद्देश्यसहित उच्च अधिकारीहरूको बैठक सिंहदरबारमा बसे । ती बैठकमा भाइकाजीलाई जानीबुझी अनुपस्थित गराइयो । उनी आउँदा सडक विस्तार अभियान रोक्न सकिँदैन भन्ने सुझबुझसहित उनलाई बोलाइएन ।
तर चौथो बैठकमा भने प्रधानमन्त्रीको आग्रहमा उनलाई पनि बोलाइयो । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको त्यो बैठकमा अधिकांश उच्च अधिकारीहरू सहभागी थिए । केहीले मौनता साँधे । तर अधिंकाशले सडक विस्तार अभियान तत्काल रोक्नुपर्ने धारणा राखे । यसरी सडक विस्तारको योजना रोक्नुपर्ने भन्दै लगभग सबैको एकमत भयो ।
‘ल भन्नुस् । समय छैन । जम्मा २ मिनेटमा सक्नुस् ।’ अनायासै उनलाई बोल्न समय मिल्यो त्यो पनि २ मिनेट । भाइकाजीले पाएको त्यही २ मिनेट काठमाडौँको सडक विस्तार गर्ने योजनालाई सफल पार्ने टर्निड प्वाइन्ट बनिदियो । ऐन कानुनका किताब र उद्देश्य तथा जिम्मेवारीसहित पुगेका भाइकाजीले आफ्नो प्रस्तुति धाराप्रवाह रुपमा राखे ।
बैठकको अन्त्यमा तत्कालीन मुख्यसचिव माधव घिमिरेले अब तत्काल यो सडक विस्तार नरोके काठमाडौँका जनताले सिंहदरबारमा शासन गर्न नदिने भन्दै यसबारे निर्णय गरिहाल्नुपर्ने बताए । सबै नकारात्मक भइरहेको बैठक नै सडक विस्तार रोक्नेतर्फ उद्यत भएको देखेर बीचबीचमा आफूले बोल्न पाउनुपर्ने भन्दै भाइकाजी अनुरोध गरिरहेका थिए । तर प्रधानमन्त्रीले समय नै दिएनन् ।
बैठक सकिन लागिसक्यो, आफूलाई समय नदिएपछि फेरि भाइकाजीले जबरजस्ती गरे । तर यसबेला पनि प्रधानमन्त्रीले भने– नयाँ कुरा केही आउँदैन । अब भयो भनेर उनी बैठक बिट मार्नतर्फ अग्रसर भए ।
बोल्नै नपाउने जस्तो भएपछि अन्तिममा भाइकाजीले अलि ठाडो स्वरले आफूले बोल्न पाउनुपर्ने माग गरे । त्यतिन्जेल मौन बस्नेबाहेक सबैले आफ्नो भनाइ राखिसकेका थिए । सबैको एकमत थियो– तत्काल काठमाडौँको सडक विस्तारको अभियान रोक्ने ।
अवस्था यस्तो आउँदै थियो– भाइकाजीको दिमागमा दोस्रोपटक पलाएको आशा मर्दै थियो र सोच पूरा नहुँदै तुहिँदै थियो । विस्तार अभियान दोस्रोपटक अलपत्र पर्दै थियो । आफ्नै अगाडि यति ठूलो विकासको काम रोकिन लागेको देखेर भाइकाजीको मन भित्रभित्रै कुँडिरहेको थियो ।
तर अन्त्यमा,
‘ल भन्नुस् । समय छैन । जम्मा २ मिनेटमा सक्नुस् ।’ अनायासै उनलाई बोल्न समय मिल्यो त्यो पनि २ मिनेट ।
भाइकाजीले पाएको त्यही २ मिनेट काठमाडौँको सडक विस्तार गर्ने योजनालाई सफल पार्ने टर्निड प्वाइन्ट बनिदियो । ऐन कानुनका किताब र उद्देश्य तथा जिम्मेवारीसहित पुगेका भाइकाजीले आफ्नो प्रस्तुति धाराप्रवाह रुपमा राखे ।
‘ऐन कानुनले हामीलाई रोक्दैन । उद्देश्य असल छ । जनताले साथ दिन्छन् । प्रधानमन्त्रीज्यूले साथ दिए अरुले जे भने पनि म काठमाडौँको मुहार बदलिदिन्छु ।’
उनको कुरा चाख दिएर सुनेका प्रधानमन्त्रीले सबैको राय उल्टयाउँदै भाइकाजीको उत्साहमा साथ दिए र भने, ‘तपाईं अघि बढ्नुस् । कसले रोक्न खोज्छ, मलाई खबर गर्नुहोला ।’ बैठकमा सन्नाटा छायो । लगभग दोस्रो पटक या भनौँ सधैँका लागि अलपत्र पर्न लागेको काठमाडौँको सडक विस्तार आयोजनाले प्राण पायो र त्यो अघि बढ्ने भयो ।
भाइकाजीको आत्मविश्वास सहितको त्यही २ मिनेटको प्रस्तुतिकै परिणाम हो, आज काठमाडौँको ४ सय किलोमिटर फराकिलो र चौडा सडक ।
तत्कालीन प्रधानमन्त्री भट्टराईको साथ थियो र अहिलेको भन्दा कैयौं बढी किलोमिटर सडक चौडा गर्ने योजना थियो भाइकाजीको । तर पलपलको अवरोध र असहयोगका कारण ४ सय किलोमिटरमै रोकिनुपर्ने अवस्था आयो । यसरी काठमाडौँ तोडफोड गरी रोकिँदाको योजना थियो, बढीमा २ वर्षभित्र कालोपत्र गरिसक्ने ।
तर यहीबीचमा बाबुराम भट्टराईको सरकार ढलेर खिलराज रेग्मीको सरकार आयो । रेग्मीको सरकारकाे पालामा पनि बाटाे विस्तारकाे कामलाई निरन्तर हौसला प्रदान गर्याे । बाटाे विस्तारलाई रेग्मी सरकारले यति महत्त्व दिएकाे थियाे कि त्यसकाे नेतृत्व गरेबापत डा. तिवारीलाई वर्षकाे उत्कृष्ट निजामती पुरस्कारबाट सम्मान गरेकाे थियाे । तर त्यसपछि आएका सरकारले यस विषयलाई वास्ता नै गरेनन् ।
राजनीतिक नेतृत्वले चासो नदिएपछि यो अभियान कर्मचारीको भरमा चलाउनुपर्ने भयो । अनि त असहयोग शृंखला पाइलैपिच्छे चले । बजेट नै नदिने काम भयो । बजेट अभावका कारण काठमाडौँबासीले कैयौं वर्षसम्म धुवाँधुलो खानुपर्यो । जनजीवन लामो समयसम्म प्रभावित भइरह्यो । र यो विस्तार योजनाले साकार रूप लिन धेरै समय लियो ।
एकातिर जनताकै लागि सडक विस्तार गरिएको थियो । तर अर्कातर्फ जनताकै सेवक भन्नेहरूबाट यो योजना सम्पन्न गर्न पलपल असहयोग भइरहेको थियो । यो सबै देख्दा भाइकाजीले जीवनमै सबैभन्दा बढी दुःख ‘फिल’ गरे ।
उनको कुरा चाख दिएर सुनेका प्रधानमन्त्रीले सबैको राय उल्टयाउँदै भाइकाजीको उत्साहमा साथ दिए र भने, ‘तपाईं अघि बढ्नुस् । कसले रोक्न खोज्छ, मलाई खबर गर्नुहोला ।’ बैठकमा सन्नाटा छायो ।
तर युद्धको मैदानमा रहेका सिपाहीका अघि के विकल्प हुन्छ र ? कि जित्नुपर्यो कि समाप्त हुनुपर्यो । सकारात्मक सोचसहित भिडिरहेका तिवारी अन्ततः सफल भए र ढिलैगरी भए पनि कम्तीमा ४ सय किलोमिटर सडक विस्तार सम्पन्न गरिछाडे ।
चौडा सडकमा काठमाडौँको प्राण दौडिरहेको छ । यदि त्यो असफल भएको भए आजको काठमाडौँ कैयौं गुणा बढी भद्रगोल हुन्थ्यो । अझ भनौँ अहिलेको गाडीको चापले काठमाडौँ ठप्प हुने अवस्थामा आइसक्थ्यो सायद ।
राजनीतिक नेतृत्व गरेका कारण मानिसले बाबुराम भट्टराईले यो सडक विस्तारका लागि सधैँ धन्यवाद दिइरहन्छन् । तर बाबुरामबाहेक पनि मैदानमा निरन्तर लडिरहेको सिपाही थिए भाइकाजी । जसको सोचको परिणाम थियो काठमाडौँको सडक विस्तारको पछिल्लो सफलता । तर उनले कहिल्यै यसको जस लिन खोजेनन् । बस चुपचाप आफ्नो जिम्मेवारी बडो सकारात्मक सोचसहित पूरा गरिरहे ।
‘मलाई परिणाम निकाल्दा नै आनन्द आउँछ । कसले जस लिए, त्यसको लेखाजोखा कहिल्यै गरिएन’, उनी भन्छन् । तर एउटा कुरा चाहिँ उनलाई खट्किरहन्छ– सबैलाई चाहिने विकासमा पनि हामीकहाँ किन राजनीति हुन्छ ? भोटले सधैँ किन विकास भाँड्छ । यदि विकासमा सबै एकजुट हुने हो भने नेपालको विकास हुन धेरै समय नै लाग्दैन ।
लामो समयदेखि भाइकाजी काठमाडौँभित्र हुने ठुल्ठुला विकास निर्माणका योजनामा संलग्न भइरहेका छन् । त्यो पनि नेतृत्वदायी रूपमै । हरसरकारको रोजाइमा परेका भाइकाजी धेरैका लागि टाउको दुखाइको विषय पनि बनिरहेका होलान् । भाइकाजीमाथि हर सरकारले देखाएको विश्वास उनको कामलाई गरिएको विश्वास हो । उनी परिणाममा विश्वास गर्छन् जागिरमा होइन । उनका लागि दिइएको जिम्मेवारी उनको लक्ष्य हो, जो भेट्टाउन उनी हरसमय त्यसको पछि लागिरहन्छन् । त्यो पनि सकारात्मक सोच र उच्च मनोबलसहितको इच्छाशक्तिसहित ।
एकातिर जनताकै लागि सडक विस्तार गरिएको थियो । तर अर्कातर्फ जनताकै सेवक भन्नेहरूबाट यो योजना सम्पन्न गर्न पलपल असहयोग भइरहेको थियो । यो सबै देख्दा भाइकाजीले जीवनमै सबैभन्दा बढी दुःख ‘फिल’ गरे ।
भाइकाजी कुनै लहडको भरमा काम गरिरहेका छैनन् । उनी नेपालका एक उच्चकोटिका आर्किटेक्चर हुन् । लमजुङको बेँसीसहरमा जन्मिएका भाइकाजी प्राइभेट एसएलसी दिएर पनि आफ्नो ब्याचमा बोर्डमा पाँचौ भएका मेधावी छात्र हुन् । पुल्चोकबाट सिभिल इन्जिनियरिङ गरेका भाइकाजी तत्कालीन शाेभियत संघकाे छात्रवृत्तिमा रसिया पुगे । रसियाका लागि तत्कालीन शिक्षा मन्त्रालयले लिएको ५६ जनाको छात्रवृत्तिको परीक्षामा पनि भाइकाजी पहिलो नम्बरमा छानिएका थिए ।
आज भाइकाजीले जे जति सफलता हासिल गरेका छन् या भनौँ उनको माध्यमबाट राज्यले जे जति विकासका योजना हासिल गरेको छ, तिनमा उनको विगतको मेहनतको भूमिका छ । हालको युक्रेनको साँस्कृतिक नगरी लुभोभमा इन्जिनियरिङमा मास्टर्स तह पढे । उनको इमान र लगनले सात समुद्रपारि पनि रङ ल्यायो । त्यहाँ पनि स्नातक तहको परीक्षामा उनको नाम विश्वविद्यालय टपरका रूपमा दर्ज भयो । त्यसलगत्तै नेपाल आएर लोकसेवामार्फत पुरातत्व विभागमा नाम निकाले र पाटन दरबार स्क्वायरको संरक्षण अधिकृतका रूपमा सेवा गरे ।
वास्तवमा इमानदारहरूको साथ आफ्नो मेहनतबाहेक कसैले दिँदैन । क्षमतावानलाई किनारा लगाउने चलन नेपालमा पहिलेदेखि नै विद्यमान छ । भाइकाजीले पनि करिअरको सुरुआतदेखि आजसम्म सहजै कहीँकतै अवसर पाएनन् ।
उनलाई आर्किटेक्टमा जापानबाट पिएचडी गर्ने इच्छा थियो । जसका लागि उनले सबै तारतम्य मिलाइसकेका थिए । तर तत्कालीन पुरातत्व विभागले उनको सिफारिस गरिदिएन । आफ्नै विभागले सिफारिस नगर्दा १ वर्ष ढिलो गरी उनी जर्मन गए । जहाँबाट उनले आर्किटेक्टमा पिएचडी गरे र नेपाल आए ।
उनको सोध उत्कृष्ट थियो, जसलाई विभिन्न विश्वविद्यालयले अध्ययनको विषय नै बनाएका छन् । उनको क्षेत्रमा त्यो स्तरको मेधावी जनशक्ति बिरलै उपलब्ध हुन्थे । त्यही भएर जर्मन लगायत विश्वका अन्य कैयौं देशमा उनलाई रोजेर आफ्नो करिअर सुरु गर्ने छनौट थियो । तर उनले ती कुनै पनि छनौटलाई वास्ता नगरी पढाइ सकिएलगत्तै टिकट काटेर आफ्नो देश आए ।
उनका सहपाठी मात्रै होइन, विभागका हाकिमहरू पनि उनी किन फर्किएका होलान् भनेर कर्के नजरले हेर्न थाले । मानौँ उनी अरु कसैको भाग खोस्न यहाँ आइरहेका छन् । उनको क्षमता र योग्यताबाट तर्सिएका वरिष्ठहरूको बक्रदृष्टि उनीमाथि पर्यो, जसले गर्दा उनले सहजै यहाँ काम गर्न पाएनन् ।
उनको काम सहरमा थियो । तर उनलाई काम नदिने उद्देश्यअनुरूप रामेछाप पठाइयो । तर उनी त्यहाँ गए र २ वर्ष काम गरे । ‘हाफ प्लानिङ’ नै भए पनि उनले मन्थली बजारको योजना बनाए । आजको जुन मन्थली बजार छ, थोरै भए पनि उनको क्रिएटिभिटी त्यहाँ छ ।
२ वर्षको मन्थली बसाइपछि भने उनको पोस्टिङ काठमाडौमा भयो । नगर विकास समितिले उनलाई डल्लु अवासमा खटायो । २०४४ सालमा सुरु भएको त्यो आयोजना २०५८ सम्म आइपुग्दा पनि त्यसले कुनै आकार लिएको थिएन । मानिसहरू त्यस आयोजनालाई डल्लु होइन, उल्लु आयोजना भनी उडाउने गर्थे । तर जसै भाइकाजीले कमान्ड सम्हाले, २२ महिनामै सम्पन्न गरेर हस्तातरण गरिदिए ।
उनको कामले परिणाम निकाल्न थालेपछि उनलाई उच्च अधिकारीले थप जिम्मेवारी पनि दिए । डल्लु आयोजना चलिरहेका बेला कीर्तिपुर आयोजना पनि उनैलाई जिम्मा लगाइयो । त्यो आयोजना पनि समयअगावै उनले सम्पन्न गरिदिए । कीर्तिपुर आयोजना समयमै सम्पन्न मात्रै भएन, त्यो आयोजना हालसम्मकै नमुना आयोजनाका रूपमा सम्पन्न भएको उनको दाबी छ ।
राजधानीका महत्वपूर्ण २ आयोजना समयअगावै प्रभावकारी ढंगबाट सम्पन्न भएपछि त उनीमाथि धेरैको नजर पर्न थाल्यो । विकास चाहने नेतृत्व चुनौतीपूर्ण काम उनलाई सुम्पिएर परिवर्तन ल्याउन चाहिरहेका थिए भने खुट्टा तान्नेहरू उनलाई असफल बनाउन विवादित बनाउन कम्मर कसेर लाग्ने गर्थे ।
मानिसहरू त्यस आयोजनालाई डल्लु होइन, उल्लु आयोजना भनी उडाउने गर्थे । तर जसै भाइकाजीले कमान्ड सम्हाले, २२ महिनामै सम्पन्न गरेर हस्तातरण गरिदिए ।
नगर विकास समितिमा उनी आफ्नो भूमिका प्रभावकारी ढंगबाट निर्वाह गरिरहेका थिए । त्यही बेला माओवादी द्वन्द्व चरम उत्कर्षमा पुगेको थियो । माओवादी द्वन्द्वको अन्त्यका लागि भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले सेना परिचालन गरे । सेना द्वन्द्व समाधानका लागि फिल्डमा मात्रै परिचालित थिएन । विकास निर्माण लगायत सरकारका सबै रणनीतिमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको थियो ।
एक दिन उनलाई नेपाली सेनाका काठमाडौँ पृतनापतिले बोलाएर भने– मौजुदा काठमाडौँको सडक सञ्जालको विकल्पमा अरु के गर्न सकिन्छ होला ? माओवादीले मुख्य सडकहरूमा विस्फोट गरिदिए सरकारले हाहाकार व्यहोर्नुपर्ने हुन्छ ।
त्यसपछि भाइकाजीले तत्काल भनिदिए– सरकारले साथ दिए वैकल्पिक सडक सञ्जाल तयार गर्न सकिन्छ । र त्यहीँबाट योजना बन्यो– राजधानीका नदी किनारका करिडोर खोल्ने । त्यसका लागि सूर्य सिलवालको नेतृत्वमा एउटा टिम बन्यो । त्यो टिमको मुख्य योजनाकारका रूपमा थिए– भाइकाजी तिवारी ।
त्यो टिमले सरोकारवाला सबैसँग सल्लाह गर्यो र सुरक्षा निकायको साथ लिएर काठमाडौँका नदी किनार खोल्न सुरु गर्यो । वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोलाका किनारमा दुवैतर्फ करिडोर खोल्ने काम सुरु भयो ।
काम तीव्र गतिमा भयो । कामले गति लिन थालेपछि साझेदारी गर्न कैयौं अन्तर्राष्ट्रिय निकायहरू पनि आए । तर खासगरी धोवीखोलाको ओम अस्पतालदेखि बुद्धनगर दोभानसम्मका लागि एडिबीले चासो दिएको थियो । तर उसको नीति अनुसार मुआब्जामा धेरै पैसा जाने भएपछि उसलाई त्यो बेला सहभागी गराइएन । तर बिडम्वना के भने त्योबेला पनि करिडोर खोल्ने काममा धेरैलाई चित्त बुझेको थिएन र बारम्बार अवरोधको शृंखला जारी नै रह्यो ।
र, अन्ततः त्यो टिमलाई खल्बल्याउने काम भयो । सूर्य सिलवालको सरुवा भयो । यदि त्यो टिम अरु १५ दिन मात्रै रहेको भए अहिले नभएको बालकुमारी जडिबुटीसम्मको मनोहरा खोलाको करिडोर कालिमाटी पुलदेखि टेकु दोभानसम्म पनि खोलिसकिएको हुन्थ्यो । तर बिडम्बना त्यतिबेला पनि काम गर्न दिइएन र त्यो लक्ष्य अधुरै रह्यो । त्यही भएर आज कोटेश्वरले धेरै ठूलो ट्राफिक समस्या भोगिरहनुपरेको छ ।
भाइकाजीले तत्काल भनिदिए– सरकारले साथ दिए वैकल्पिक सडक सञ्जाल तयार गर्न सकिन्छ । र त्यहीँबाट योजना बन्यो– राजधानीका नदी किनारका करिडोर खोल्ने ।
काम आरम्भ गरियो । योजना बनाइयो र कार्यान्वयन गरियो । सम्पन्न गर्न त धेरै समय लाग्यो । अहिलेसम्म पनि काम भइरहेकै छ । त्यसबेला बाँकी रहेका काम उनकै नेतृत्वमा अहिले पनि भइरहेको छ । र, उतिबेला निर्णय गर्न बाँकी रहेका काम पनि उनी अहिले गर्न खोजिरहेकै छन् । जसले गर्दा सबै नदी करिडोरमा खुल्ला बाटो याने सहरको वैकल्पिक बाटोको रूपमा रहोस् ।
आज जे–जति बनेको छ, त्यसले पनि काठमाडौँलाई वैकल्पिक बाटो दिएको छ भने काठमाडौँबासीलाई राहत । यदि नदी करिडोरमा बाटो बनाउने निर्णय नभएको भए विस्तार गरिएकै बाटोले आज धान्न सक्ने अवस्था हुने थिएन । जसको आज उपत्यकाबासीले उपभोग गरिरहेका छन् । राज्यले आँटे, साधन स्रोत उपलब्ध भए योजना सम्पन्न हुन सक्छन् भन्ने उदाहरण हुन् यी आयोजना ।
उपत्यकाका ४ कुनामा बन्दै छन् ४ सहर
हाम्रो देशमा बहुसंख्यक सरकारी सेवामा रहेकाहरू किन जोखिम मोल्ने भन्दै दिन कटाइरहेका हुन्छन् । जागिर खाने र आफ्नो समय बिताउने परम्पराका बीच सरकारी जिम्मेवारीमा रहेका कैयौं यस्ता व्यक्ति छन्, जसले मुलुक बनाउने सपना देखिरहेका हुन्छन् । उनीहरू जागिर होइन, जिम्मेवारी बहन गर्छन् । मुलुकका लागि भन्दै आफ्नो पद प्रतिष्ठाभन्दा पनि ठुल्ठुला निर्णय लिन्छन् र त्यसलाई कार्यान्वयन गर्न पनि लागिहाल्छन् ।
भाइकाजी तिवारी त्यस्ता कर्मवीर हुन् जोसँग न योजनाको कमी छ न कार्यक्षमताको । उपत्यकाभित्र एकपछि अर्को महत्वाकांक्षी योजना उनले ल्याए र त्यसलाई पूरा पनि गरे । काठमाडौँ उपत्यका विकास प्राधिकरणको नेतृत्वमा रहेका उनले सरकारी काम कहाँ समयमा सकिन्छ र ? भन्ने परम्परागत मान्यतालाई तोडिरहका छन् ।
भाइकाजी यतिबेला काठमाडौँलाई विश्वस्तरको सहर कसरी बनाउने भनेर लागिरहेका छन् । उनको नेतृत्वमा उपत्यकाका ४ कुनामा ४ सहर निर्माणको योजना अन्तिम चरणमा पुगेको छ । आफ्ना तर्फबाट सम्पूर्ण योजना निर्माण गरी उनले मन्त्रिस्तरमा पेस गरिसकेका छन् । मन्त्रीस्तरको छलफलबाट योजनहरूले नेपाल सरकारलाई आर्थिक रूपमा कसरी फाइदा गर्छ भन्ने विषय एकिन गरेर ल्याउने कुरा भएको छ । केही दिनभित्रै त्यो आर्थिक प्रतिवेदन सरकारलाई बुझाएपछि सुन्दर र विश्वस्तरका ४ सहर निर्माणको प्रक्रिया अघि बढ्ने छ ।
भाइकाजी तिवारीले ल्याएको योजनाअनुसार उपत्यकाको पूर्वी क्षेत्रलाई समेटेर १ लाख रोपनीको एउटा सहर बन्ने छ । चाँगुनारायण, भक्तपुर, मध्यपुर ठिमी, कागेश्वरी मनोहरा र शंखरापुर नागरपालिकालाई समेटेर बन्ने यो सहर सबै सरकारी प्रक्रिया पूरा गरी काम आरम्भ भएको दिनले ५ वर्षभित्रमा सम्पन्न भइसक्ने छ ।
यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिकामा १७ हजार रोपनीको अर्को सहर निर्माणको योजना पनि सँगै अघि बढिरहेको छ । यो भने काम आरम्भ भएको मितिले ३ वर्षभित्र सम्पन्न भइसक्ने तिवारीले बताए ।
उता ललितपुरको भैँसेपाटीभन्दा तल अर्को १० हजार रोपनीको सहर निर्माण हुने छ । र उत्तरतर्फ तारकेश्वर टोखा नगरपालिका क्षेत्रमा अर्को १० हजार रापनीको हरित सहरको परिकल्पनाले पनि अन्तिम रूप लिइसकेको छ ।
यी चारै योजना सँगै सुरु हुने योजना हुन् । र ढिलोमा ५ वर्षभित्र सबै योजना सम्पन्न भइसक्ने छन् । चारै सहर निर्माणका लागि समितिहरूबाट सिफारिस भई नेपाल सरकारको स्वीकृतिको चरणमा पुगिसकेको छ । नयाँ बन्ने सहरहरूमा पानी, बिजुली, ढल, सञ्चार लगायतका सबै सेवा सुविधा विश्वस्तरका हुने छन् । सहरहरू नमुनायोग्य त हुने छन् नै, त्यसका अलावा त्यहाँ हाम्रो मौलिकतालाई पूरापूर ध्यान दिइने छ ।
मौलिकता र आधुनिकताले भरिपूर्ण यी सहर निर्माण भएपछि नेपालबाट विश्वले त्यो आर्किटेक्टको अनुशरण गर्ने भाइकाजीको विश्वास छ । यतिबेला एकातिर ४ वटा नयाँ सहर बनाउने योजना उनीसँग छ भने सँगसँगै उनको दिमागमा पुरानो सहरलाई कसरी व्यवस्थित बनाउने भन्ने खाका तयार भइसकेको छ ।
उनी भन्छन्– ४ नयाँ सहर मौलिकता र आधुनिकताले भरिपूर्ण हुने छन् भने सँगै पुरानो सहरलाई पनि यसअघि जग्गा पुलिङ गरझैँ अब हाउस पुलिङको माध्यमबाट मल्लकालीन शैलीको बनाउने छ । यसले एकातिर अहिलेको जनसंख्या छरिने छ भने पुरानो सहरले पनि नयाँ जीवन पाउने छ । नयाँ सहर बन्दा भइरहेका सहर मासिने होइन, बरु पुरानो सहरलाई संरक्षण गर्ने काम गर्ने छ । सुन्दर स्वप्न लाग्ने यो परिकल्पना भाइकाजीले सरासर काम गर्न पाए अबको ५ वर्षभित्रमा यथार्थमा परिणत भइसक्ने छ ।
अबकाे ५ वर्षभित्रमा चाँगुनारायण, भक्तपुर, मध्यपुर ठिमी, कागेश्वरी मनोहरा र शंखरापुर नागरपालिकालाई समेटेर एउटा, भक्तपुरको सूर्यविनायक नगरपालिकामा १७ हजार रोपनीको एउटा, ललितपुरको भैँसेपाटीभन्दा तल १० हजार रोपनीमा एउटा र तारकेश्वर टोखा नगरपालिका क्षेत्रमा अर्को १० हजार रापनीको हरित सहर निर्माण भइसक्ने छन् ।
जीवन कर्म गर्नलाई बनेको हो, यसलाई निरन्तर कर्ममै व्यस्त गराउनुपर्छ । कसले के भन्यो क्रिया प्रतिक्रियाको पछि नलागेर चुपचाप आफ्नो कर्म गर्नुपर्छ । यही सोच लिएर भाइकाजी आफ्नो अभियानमा लागिरहेका छन् । जीवनमा कतिबाट सहयोग पाए, कतिबाट असहयोग । तर आफ्नो परिकल्पनालाई साकार पार्न उनी निरन्तर दत्तचित्त भएर लागिरहे ।
भन्छन्– ‘अहिले अघि सारेका परिकल्पना आाफ्नै कार्यकालमा पूरा होस् भन्ने कामना गरिरहेको छु । नभए जो आउँछ, त्यसले त्यो पूरा नगरी धरै छैन ।’ जीवनमा कहिल्यै यो सकिँदैन भनेर नकारात्मक सोच उनले आफूमा प्रवेश गर्न दिएनन् । सायद त्यही एउटा सकारात्मक सोचले उनलाई आजसम्मको यात्रा गराउन सफल भएको छ ।
केही भएन वा केही हुँदैन भन्नेहरूका लागि भाइकाजी एउटा जिउँदोजाग्दो उत्तर हुन् भने सरकार र राज्यका लागि एक भरोसायोग्य काँध । जसलाई अघि सारे असम्भव देखिने काम पनि समयमै सम्भव हुन्छ ।
आशा गरौँ– भाइकाजी जस्तै कर्मवीरहरूको इमानदार कर्मले हाम्रो देश पनि एकदिन सफलताको सिँढी चढ्ने छ र विमानस्थलमा प्रस्थानमा देखिएको लाइन एकदिन स्वदेश आगमनमा लामबद्ध भएको देख्न पाइने छ । किनकि सबैकुरा विश्वास र कर्मले नै सम्भव बनाउने हो ।
डा. भाइकाजी तिवारीका आगामी योजनालाई सफलताको शुभकामना ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६