अस्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरसकाे संक्रमण भएकाे पुष्टि भएको छ ।
एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई भाइरस संक्रमण भएको जानकारी दिएका हुन् । उनी कोरोना भाइरस संक्रमण भएको अस्ट्रेलिया सरकारको पहिलो सदस्य हुन् ।
मन्त्री डट्टनले बिहान उठ्दा शरीर तातेको र घाँटी खराब भएको पाएपछि तत्काल क्विन्स्ल्याण्डको स्वास्थ्य विभागमा सम्पर्क गरेर कोभिड १९ परीक्षण गराएको र साँझ परीक्षण पोजिटिभ आएको जनाएका छन्
भाइरस परीक्षण पोजिटिभ आएकाहरुले अस्पताल बस्नुपर्ने क्विन्सल्यान्ड स्वास्थ्य विभागको नीति भएकाले आफूले त्यसैअनुसार गरेको पनि उनले जनाएका छन् ।
क्विन्सल्यान्ड हेल्थको नीति अनुसार कुनै पनि व्यक्तिलाई कोरोना पोजेटिभ देखिएमा अस्पतालमा भर्ना गर्नुपर्छ । र म उहाँहरुको सुझावलाई मान्न तयार छु । मैले अहिले आराम महसुस गरिरहेको छु । आगामी स्वास्थ्य अवस्थाबारे जानकारी गराउने छु, मन्त्री डटोनले भनेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६