लमजुङ । बेंसीसहर नगरपालिका–३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा आउने पर्यटकलाई रोक लगाउन थालिएको छ ।
यहाँका घरवासमा दैनिक सयौँको सङ्ख्यामा पर्यटकको भीड लाग्ने गर्छ । विदेशी पर्यटकका माध्यमबाट कोरोना भाइरस लाग्न सक्ने त्रासले केही दिन पर्यटकलाई रोक लगाइएको ग्रामीण काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।
यहाँ आउनका लागि विभिन्न जिल्लाबाट दर्ता (बुकिङ) गरेका थिए तर सो भाइरसको डर भएको भन्दै नआउनलाई आग्रह गर्दै बुकिङ रद्द गरिएको सो व्यवस्थापन समितिका सचिव कविन्द्र गुरुङले जानकारी दिए ।
कोरोनाको जोखिमलाई ध्यान दिँदै घरवासमा पर्यटक रोक्न थालिएको व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । भाइरसको त्रास नहटुञ्जेलसम्म काउलेपानी घरवासमा आउने पर्यटकलाई रोक लगाइने बताइएको छ ।
शाहवंशीय राजाको उद्गमस्थल लमजुङ दरबार नजिकै रहेको यस घरवासमा नेवार, गुरुङ, भुजेल समुदायको बसोबास छ । ती समुदायका काउलेपानीमा २५ घरधुरी छन् । ती घरधुरीमध्ये तीनवटै समुदाय गरी १५ वटा घरमा घरवास सञ्चालनमा रहेको छ ।
समुन्द्री सतहबाट एक हजार ६०० मिटर उचाइमा रहेको काउलेपानी सन् २०११ बाट घरवास सुरु भएको थियो । यशोबह्मा शाहवंश राजाले राज गरेको लमजुङ दरबार, विभिन्न हिमाललगायत रमणीयस्थल देख्न सकिन्छ । रासस
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६