काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड-१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ ।
सन् २०१९ काे डिसेम्बरमा चीनकाे वुहानबाट सुरु भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर लाखाैं मानिस संक्रमित भएपछि बुधबार संगठनले महामारी घोषणा गरेको हो ।
डब्लूएचओले बुधबार पत्रकार सम्मेलन गरी यो भाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गर्दै यो महामारीलाई हल्का रुपमा नलिन समेत आग्रह गरेकाे छ ।
गत २ सातादेखि चीनबाहिर कोरोनाबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ । संक्रमित हुने देश तेब्बर भइसके, संगठनका डाइरेक्टर-जनरल डा. टेड्रोस अडानोम गब्रराइससले जेनेभामा भएको पत्रकार सम्मेलनमा भनेका छन्, आगामी दिनमा संक्रमित, मृतक र प्रभावित देश संख्या अझै बढ्ने हाम्रो अनुमान छ ।
टेड्रोसका अनुसार अहिलेसम्म देखिएका कोरोना भाइरसका प्रकारमध्ये यही कोभिड-१९ मात्र महामारी घोषणा भएको हो । यसअघि सार्स, मर्स नामक कोरोना भाइरसले पनि धेरै मान्छेको ज्यान लिएको थियो ।
विश्व स्वास्थ्य संगठनले सुरुमा कोभिड-१९ यसरी फैलिएला भन्ने आँकलन नगरेकाले महामारी घोषणा गर्न नखोजेको पनि टेड्रोसले बताएका छन् । अब यो अनियन्त्रित भयो भनेपछि महामारी किन नभन्ने ?, उनले पत्रकार सम्मेलनमा भनेका छन् ।
कोरोना भाइरसबाट एसिया, युरोप, मध्य पूर्व र अमेरिकामा १ लाख २१ हजारभन्दा बढी मान्छे संक्रमित भएका छन् भने बुधबारसम्ममा ४ हजार ३ सय ७३ जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरसको उद्गम देश चीनबाहिर मात्र ३२ हजार ७ सय ७८ जना संक्रमित पाइएका छन् । कम्तीमा १ सय १४ देशमा कोरोना भाइरसकाे संक्रमण फैलिएकाे पाइएकाे छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६