कपिलवस्तु । कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका १ युवालाई अदालतले १२ वर्ष कैदकाे सजाय सुनाएको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र १ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला भएको छ ।
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लोकजङ्ग शाहको इजलासले बुधबार सो फैसला गरेको हो । जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई अदालतले उक्त सजाय तोकेको हो ।
अदालतका स्रेस्तेदार चिन्तामणि शर्माका अनुसार ती बालिकालाई बलात्कार गर्ने अन्य ४ बालकलाई भने ८ वर्ष बालसुधार गृहमा राख्ने फैसला भएको छ ।
विसं २०७५ माघ र फागुनमा छुट्टाछुट्टै सयममा ती बालिकालाई ६ जनाले ललाइफकाई जबर्जस्ती करणी गरेका थिए । बालिकाले डर त्रासका कारण त्यसबारे घरमा कसैलाई जानकारी दिएकी थिइनन् ।
घटनापछि बालिकाले ३ महिना ४ दिनको गर्भ बोकेको कुरा स्वास्थ्य जाँचका क्रममा भेटिएको थियो ।
पीडितकी आमाले २०७६ वैशाख ११ गते आफ्नी छोरीलाई छ जनाले बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन् ।
सोही आधारमा घटनाका मुख्य आरोपी श्रेष्ठ पक्राउ परेका थिए । बालिकालाई नगरपालिका–२ गोरुसिङ्गेस्थित रोयल खुस्बु होटलमा लगी बलात्कार गरिएको थियो ।
होटलका मालिक नगरपालिका–९ इमिलियाका युवराज भुसाल जैसीले बालिकालाई बलात्कार गरेका थिए । किटानी जाहेरी परेदेखि उनी फरार रहेको प्रहरीले जनाएको छ । उनको मुद्दा मुल्तबी राखिएको स्रेस्तेदार शर्माले जानकारी दिए ।
बालिका सकुशल रहेको प्रहरीले जनाएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ३६९४० अनुसार आरोपी बालक भए कैदको २ तिहाइ मात्र सजाय भोग्नुपर्ने प्रावधान छ ।
१८ वर्षमुनिका बालबालिकाको सहमति र असहमति दुवै अवस्थामा बलात्कार हुने मुलुकी संहितामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६