मुग्लिन । चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ । गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ ।
पछिल्लो समय काठ अभावभएपछि पुनःनिर्माणमा ढिलाइ भएको मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । उनका अनुसार मन्दिर जीर्ण भएपछि गत असारदेखि जगैबाट भत्काइ पुनःनिर्माण थालिएको थियो । काठ अभाव भएपछि विसं २०७६ असोज महिनादेखि काम ठप्प छ ।
उनले भने, असोज महिनादेखि काठ उपलब्ध नभएपछि मन्दिर निर्माणको काम ठप्प भएको छ, अब काठ ल्याउनका लागि प्रक्रिया अघि बढिसकेको छ, चाँडै काम पुनः सञ्चालन हुने छ ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले काठ अभावका कारण काम रोकिएको बताए । उनले काठ उपलब्ध गराउन गाउँपालिकाले समन्वय र सहयोग गरिराखेको जानकारी दिए ।
मन्दिर निर्माणका लागि झण्डै ३ करोड रुपैयाँ लाग्ने जनाइएको छ । प्रदेश सरकारबाट ५० लाख र गाउँपालिकाबाट ७५ लाख रुपैयाँ बजेट उपलब्ध भई काम सुरु गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराले बताए । हालसम्म मन्दिर पुनःनिर्माणको काम ३३ प्रतिशत सम्पन्न भएको बताइएको छ ।
मन्दिर पुनःनिर्माण भइरहे पनि दैनिक पूजाआजा रोकिएको छैन । अहिले मन्दिर बाहिर प्रतिमा निर्माण गरेर पूजा गर्ने व्यवस्था मिलाएको छ । प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा मन्दिरमा मेला लाग्ने गर्दछ ।
मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ । मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् । रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गरिन्छ ।
मन्दिर सामुद्रिक सतहदेखि १ हजार ८ सय मिटरको उचाइमा छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश माछापुच्छ्रेसम्म देख्न सकिन्छ ।
मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी हर्कबहादुर गुरुङले बताए । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएको स्थानीय होटल व्यवसायी ज्ञानबहादुर गुरुङ बताउँछन् । रासस
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६