काठमाडाैं । छुट्टाछुट्टै स्थान र समयमा भएका सवारी दुर्घटनामा परी ३ जनाकाे मृत्यु भएकाे छ भने २३ जना घाइते भएका छन् ।
बाँकेको कोहलपुरमा बिहीबार बससँग ठोक्किँदा अटो रिक्सा चालकको मृत्यु भएको छ । कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि भएको सो दुर्घटनामा परी अन्य ९ जना घाइते भएका छन् ।
दुर्घटनामा वैजनाथ–२ का अटो चालक जयबहादुर रोकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । भे १ ख २१२९ नम्बरको बस र भे १ ह १६५३ नम्बरको अटो रिक्सा आपसमा ठोक्किएका थिए ।
बसका चालक कोहलपुर नगरपालिका–११ बस्ने विवेक सिंहलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएकाे छ ।
यसैगरी, ओखलढुंगाको मानेभञ्ज्याङमा बिहीबार बिहान जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।
वीरगन्जबाट रुम्जाटार जाँदै गरेको प्रदेश ३–०१२२ च ३१८३ नम्बरको जिप सडकबाट १ सय ५० मिटर तल खसेको हो । जिप चालक अनिलकुमार सहनी र सुगन्भीदेवी मुखिया गम्भीर घाइते भएका छन् ।
मिसन अस्पताल ओखलढुंगामा घाइतेहरूको उपचार भइरहेको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।
तीव्र गतिका कारण जिप दुर्घटनामा परेको हुनसक्ने प्रहरीकाे प्ररम्भिक अनुमान छ ।
यसैगरी बाँकेको बैजनाथ गाउँपालिका– ५ मा बुधबार साँझ भे ६ प ७२४१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका पैदलयात्री ५५ वर्षीय दिलबहादुर पुनको मृत्यु भएको छ ।
यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका ७ सुर्यपुरामा हिँजो बेलुकी भारतीय नम्बरको मोटरसाइकल र लु ३२ प ३९०६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बर्दघाट नगरपालिका १५ कुकुरमाराका ३५ वर्षीय राजन सुनारको मृत्यु भएको छ ।
साे घटनामा घाइते भएका अन्य २ जनाको चौपत्तास्थित शहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६