काठमाडाैं । आफू अपहरण परेको नाटक गर्दै फिरौती माग्ने १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका छोरा २४ वर्षीय मुकेशकुमार पक्राउ परेका हुन् ।
यही फागुन २३ गते आफू अपहरणमा परेको र सकुशल फिर्ता हुन ३० लाख रुपैयाँ चाहिने सूचनासहित बुबाको मोबाइलमा फोन आएको भनी जाहेरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
छोराको मायाले बुबा शिवनारायणले २१ लाख रुपैयाँ फिरौती दिए पनि अनुसन्धानबाट अपहरणको नाटक रच्ने मुकेशलाई प्रहरीले फागनु २६ गते सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो ।
फिरौती रकमसहित बूढीगंगा गाउँपालिका–३ निवासी हरिप्रसाद राजवंशीका छोरा २५ वर्षीय कृष्ण राजवंशीलाई प्रहरीले पक्राउ गरेको थियो । अपहरणको नाटक गर्ने योजनाकारसहित कृष्ण राजवंशीलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकारसमक्ष सार्वजनिक गरेपछि सबै तथ्य बाहिर आएको हो ।
प्रहरीले कृष्णबाट नगद १६ लाख ५३ हजार र ३ लाखको चेक पनि बरामद गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
यसैगरी प्रहरीले मोरङको बेलबारी नगरपालिका–८ निवासी २९ वर्षीय कमानसिंह राईलाई खैरो हेरोइन १५ ग्रामसहित पक्राउ गरेको छ । भारतको जोगबनी हुँदै नेपाल रानी प्रवेश गर्ने क्रममा फागनु २५ गते प्रहरीलाई शंका लागेपछि खोजतलास गर्दा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बजार मूल्यअनुसार सो हेरोइन करिब ५० हजार रुपैयाँको हो । प्रतिडोज सेवनकर्ताले १ हजारका दरले खरिद गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । निज राईलाई प्रहरीले लागुऔषध ओसारपसार गरेको अभियोगमा कारबाही गर्ने भएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६