काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा (संयुक्त) बीच औपचारिक रूपमा एकीकरण भएको छ । बुधबार राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर एकीकरणको घोषणा गरिएको हाे ।
दुवै पार्टीबीच एकीकरणपछि नयाँ नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ। एकीकरणमा दुवै पार्टीका अध्यक्षले आधारपत्रमा हस्ताक्षर गरे । अब पार्टीमा ३ जना अध्यक्ष रहने छन् । राप्रपा संयुक्तमा यसअघि नै पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेकामा अब कमल थापा पनि अध्यक्ष नै हुने भएका हुन् ।
एकता घोषणा सभालाई सम्बाेधन गर्दै अध्यक्ष कमल थापाले आफूले कहिल्यै पनि पार्टी नफुटाउने बताए । उनले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिज्ञा गरेका हुन् । ‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्न’ उनले भने ।
उनले राप्रपाले गत संसदीय चुनावमा ३ प्रतिशत मत ल्याएर राष्ट्रिय पार्टी समेत बन्न नसकेका कारण २ पार्टीबीच एकता गर्नुको विकल्प नरहेको बताएका छन् ।
राप्रपाको एजेन्डा बलियो हुँदाहुँदै पनि नेताहरुकै कारणले जनविश्वास प्राप्त हुन नसकेको र जनविश्वास प्राप्त गर्न एकताबाहेक अरु उपाय नभएको उनले बताए ।
‘त्यसैले यो एकतालाई सार्थक बनाएका छौं । यो एकतासँगै राष्ट्रिय राजनीतिमा सशक्त तेस्रो राजनीतिक धार उदय भएको छ,’ उनले भने । ‘साम्यवादी र समाजवादी धार हावी भएको छ । कम्युनिस्ट र कांग्रेस दुवै नै बामपन्थी र मध्यबामपन्थीहरु हुन् र त्यही धार हावी भइरहेकाे छ।’
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६