काठमाडौँ । यातायात व्यवस्थापन विभागले व्यक्तिगत प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरु भाडाका रुपमा प्रयोग भइरहेको भन्दै त्यसाे नगर्न निर्देशन दिएकाे छ ।
विभागकाे यस निर्देशनले घुमाउरो पारामा टुटल र पठाओ बन्द गर्न निर्देशन दिएको छ । विभागले व्यक्तिगत प्रयाेजनका लागि दर्ता भएका सवारीसाधन आफूखुसी भाडा तोकी प्रयोग नगर्न सूचना जारी गरेको हाे ।
विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरूलाई विभिन्न माध्यमबाट आफूखुशी भाडा तोकी सार्वजनिक सवारीको रूपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ को उपदफा १ मा भएको कुनै एक प्रयोजन का निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्थाविपरीत हुन जाने हुँदा त्यसो गरेको पाइएमा सोही ऐनबमोजिम कारवाही गरिने र सो सम्बन्धमा यस विभाग, मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ, विभागद्वारा जारी सूचनामा भनिएको छ ।
विभागले नियम नमान्नेलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ। ‘सो सम्बन्धमा यस विभाग, मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, विभागद्धारा जारी सूचनामा उल्लेख छ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६