काठमाडौँ । मंगलबार कंग्रेस पार्टी परित्याग गरेका भारतीय नेता ज्योतिरादित्य सिंधिया बुधबार भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।
कंग्रेसमा रहेर जनताको सेवा गर्न असमर्थ रहेको कारण जनाउँदै मंगलबार सिंधियाले कंग्रेसबाट राजीनामा दिएका थिए । बुधबार उनलाई भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले भाजपा प्रवेश गराएका छन् । मंगलबार कंग्रेसबाट राजीनामा दिनुअघि सिंधियाले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसँग लामो छलफल गरेका थिए ।
मध्यप्रदेशमा गत वर्ष सम्पन्न विधानसभाको निर्वाचनदेखि असन्तुष्ट रहेका सिंधिया अन्ततः भाजपा प्रवेश गरका छन् । विधानसभाको निर्वाचनमा मध्यप्रदेशमा कंग्रेसलाई विजयी गराएपछि आफूलाई मुख्यमन्त्री दिने आशामा रहेका सिंधिया पार्टीले कमलनाथलाई मुख्यमन्त्री बनाएपछि रुष्ट थिए । त्यतिबेला उनलाई मुख्यमन्त्री बनाउनुपर्ने माग गर्दै उनका समर्थक विधायकहरुले पार्टीको निरन्तर विरोध गरेका थिए ।
सिंधियाले पार्टी छाडेसँगै कमलनाथको नेतृत्वमा रहेको मध्यप्रदेशमा कंग्रेसको सरकार संकटमा परेको आँकलन गरिएको छ । नयाँ सरकार निर्माणका लागि भाजपाका नेता शिवराजसिंह चौहानले अभियान थालेका छन् भने कंग्रेसले पनि कमलनाथको सरकार टिकाइराख्न आफ्ना विधायकहरुलाई एक रिसोर्टमा जम्मा गरेको छ ।
सिंधियाको राजीनामालगत्तै मंगलबार नै कंग्रेसका २२ विधायकले पार्टीबाट राजीनामा दिने बताइसकेका छन् । यद्यपि विधायकको राजीनामाबारे भने अहिलेसम्म निर्णय सार्वजनिक भइसकेको छैन । मनमोहन सिंहको सरकारमा केन्द्रीय मन्त्री रहेका सिंधिया कंग्रेसका मजवुत नेता हुन् ।
पिता माधवराज सिंधियाको निधनपछि राजनीतिमा आएका ज्योतिरादित्य विगत १८ वर्षदेखि सांसद थिए । गएको निर्वाचनमा भने उनले आफ्नो क्षेत्रबाट हार व्यहोर्नुपरेको थियो ।
उनकी हजुरआमा राजमाता विजयाराज्य भाजपाका वरिष्ठ नेताको रुपमा लामो समय काम गरेकी थिइन् । सिंधियाका २ फुपूहरु बसुन्धराराजे र यशोधराराजे पनि भाजपाका नेतृ रुपमा काम गरिरहेका छन् । अब ज्योतिरादित्यको भाजपा प्रवेशसँगै सिंगो सिंधिया परिवार भाजपामा एकठ्ठा भएको छ । भाजपाले ज्योतिरादित्यलाई के भूमिका दिन्छ त्यसबारे भने अहिले एकिन छैन ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६